काठमाडौं महानगरका जनप्रतिनिधिको तलब २५ करोड, वडाध्यक्षलाई २५ हजार चिया खर्च




काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रत्येक वडाध्यक्षले चिया खर्चका लागि मासिक २५ हजार रुपैयाँ पाउने भएका छन् ।

काठमाडौं महानगरपालिकाको मंगलबार बसेको दोश्रो बैठकले अतिथि सत्कार तथा जलपानका लागि प्रत्येक वडालाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो । त्यसका लागि नगर कार्यपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगर कार्यपालिकाको दोश्रो बैठकले आम काठमाडौंबासीको समस्यालाई सम्बोधन हुने शीर्षकमा पनि बजेट विनियोजन गरेको छ ।

आम नगरबासीको दैनिकीसँग जोडिएको सडक तथा फुटपाथ र ढुङ्गा छाप्ने प्रत्यक वडालाई १७ लाख रुपैयाँ विनियोजन गरिएको छ । पुर्वाधार विकासका लागि ५ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगर कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको क्लिन द सिटी अभियान अन्तरगत सडक सरसफाई र ढल मर्मतका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । यस शीर्षकमा नगर कार्यपालिकाले १ करोड ६० लाख विनियोजन भएको छ ।

नगर कार्यपालिकाको दोस्रो बैठकले पूर्वाधार, वातावरण र अनुदान अन्य खर्चका लागि ३२ वडाका लागि समान २२ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यसका लागि नगर कार्यापालिकाले ७ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको हो ।

साथै, नगर कार्यपालिकाले जनप्रतिनिधिको तलब सुविधाका लागि पनि बजेट विनियोजन गरेको छ ।

जनप्रतिनिधिको तलब तथ सुविधाका लागि ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जसमा जनप्रतिनिधिको तलबमा २५ करोड रुपैयाँ खर्च हुनेछ भने अन्य सुविधामा १० करोड रुपैयाँसम्म खर्च हुने जनाइएको छ ।

नगर कार्यपालिकाले जनप्रतिनिधिको अन्य सुविधा, बैठक भत्ता र खाज खर्चका लागि पनि बजेट विनियोजन गरेको छ ।

महानगरपालिका प्रमुख तथ उपप्रमुखलाई बैठक भत्ता एक हजार ५ सय रुपैयाँ र यातायात भत्ता एक हजार रुपैयाँ छुटाइएको छ ।

यस्तै, नगरकार्यपालिका सदस्य र वडा सदस्यलाई एक/एक हजार रुपैयाँ बैठक र यातायात भत्ता पाउने भएका छन् ।

साथै, आमन्त्रित सदस्यले पनि एक/एक हजार रुपैयाँ बैठक र यातायात भत्ता पाउने छन् ।


क्लिकमान्डु