यी हुन् विश्वकै उत्कृष्ट १० एयरलाइन्स



काठमाडौं । उपभोक्ता-उड्डयन वेबसाइट ‘स्काई ट्र्याक्स’ले गरेको सर्वेक्षणमा कतार एयरवेज सन् २०१७ को बिश्वकै उत्कृष्ट एयरलाइन्स बनेको छ ।

कतारको दोहामा आधारित एयरलाइन्सलाई मंगलबार ‘पेरिस एयर शो’ को कार्यक्रममा अवार्ड हस्तान्तरण गरिएको छ ।

कतार एयरलाइन्सले यो सहित ४ पटक यो उपाधिमा कब्जा जमाइसकेको छ । सन् २०११, २०१२ र २०१५ मा पनि कतार एयरलाइन्सले यो उपाधी जितिसकेको छ ।

समग्रमा एसियाली एयरलाइन्सहरुले स्काई ट्र¥याक्सको सुचीमा कब्जा जमाएका छन् । बिश्वको १० उत्कृष्ट एयरलाइन्सहरुको सुचीमा एसियाबाट ९ वटा परेका छन् ।

अमेरिकी एयरलाइन्सहरुले भने आफुलाई उत्कृट ३० को सुचीमा पनि पार्न सकेनन् । डेल्टा एयरलाइन्सले सबैभन्दा माथि ३२ औं स्थानमा कब्जा जमायो ।

स्काई ट्र्याक्सले १ सय ५ देशका २ करोड हाराहारी यात्रीहरुको अनुभवको आधारमा यो सुची तयार पारेको हो । सर्भेमा बिश्वभरका ३ सय २५ एयरलाइन्सहरुलाई समावेश गरिएको थियो । र, सिटको आरामदायिता, खाना लगायत ४९ वटा बिभिन्न मापडण्डको प्रयोग गरिएको थियो ।

स्काई ट्र्याक्सको सूचीको उत्कृष्ट १० एयरलाइन्सको सुची यहाँ उल्लेख गरिएको छ ।

१०. गरुडा इन्डोनेसिया: अघिल्लो बर्ष गरुडा सूचीको ११औं स्थानमा थियो । इन्डोनेसियाको यस ध्वजावाहकले पछिल्लो समयमा सेवा र सुरक्षको क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । यात्रुहरुले गरुडाको आरामदायी सिट र दक्षिणपुर्वी एसियाली खाना बढी रुचाएका छन् । गेरुडाका कर्मचारीहरुले पनि लगातार दास्रो बर्ष बिश्वै उत्कृष्ट ‘क्याबिन क्रु’ अवार्ड पाएका छन् ।

९. हाइनान एयरलाइन्स: हाइनान गत बर्षको सूचीमा १२ औं स्थानमा थियो । सन् १९९३ मा स्थापना भएको हाइनान स्काई ट्र¥याक्सको सूचीमा पर्न सफल एकमात्र चिनियाँ एयरलाइन्स भएको छ । ३ बर्षको छाटो अबधिमै हाइनानले २२औं स्थानबाट ९औं स्थानको छलाङ मार्न सफल भएको छ । यात्रीहरुले हाइनानको चुस्त सेवा र गुणस्तरीय बिजनेश क्लासलाई रुचाएका छन् ।

८. इतिहाद एयरलाइन्सः इतिहाद अघिल्लो बर्षको छैठौं स्थानबाट यो बर्ष ८औं स्थानमा आइपुगेको छ । दुबईको अबुधाबीमा आधारित इतिहाद युएईको ध्वजावाहकसमेत हो । इतिहादको प्लेन भित्रको ‘अपार्टमेन्ट’ र फस्र्ट र बिजनेश क्लास स्वीट बिशेष चर्चामा छन् ।

७. लुफ्तआन्सा: युरोपको सबैभन्दा ठूलो यो एयरलाइन्सले गत बर्षको १० औं स्थानबाट आफुलाई ७औं स्थानमा उकालेको छ । सेवा र वस्तुको गुणस्तरका लागि ग्राहकहरुले लुफ्तआन्सालाई रुचाएका छन् ।

६. इभा एयर: टाइवानको इभा एयर सन् १९८९ मा स्थापना भएको हो । इभाले आफुलाई गत बर्षको ८औं स्थानबाट छैठौं स्थानमा ल्याएको हो । टापेइमा आधारित यो एयरलाइन्सले बिगत २ दशकमा ठूलो छलाङ मारेको छ । ‘प्रिमियम इकोनोमी’ क्याबिनको शुरुवात गरेको जस यो एयरलाइन्सलाई दिने गरिन्छ ।

५. क्याथे प्यासिफिक एयरवेजः क्याथे गत बर्षको सूचीमा ४औं स्थानमा थियो । एक स्थान घटे पनि क्याथे प्रशान्त क्षेत्रको प्रतिष्ठित एयरलाइन्स हो । क्याथे निकै धेरै उडान भर्ने र यात्रुलाई राम्रो अनुभव पस्कन खप्पिस एयरलाइन्स हो । उडानमा दिने मनोरञ्जनको लागि पनि क्याथे परिचित छ ।

४. एमिरेट्सः एमिरेट्स गत बर्षको पहिलो स्थानबाट चौथोमा गुल्टिएको छ । दुबइको यो एयरलाइन्सले बिगत ३० बर्षमा आफुलाई बिश्वकै उत्कृष्ट एयरलाइन्सको सुचीमा उभ्याएको छ । एमिरेट्सको उडानमा यात्रुहरुका लागि प्रशस्त सिनेमा, भिडियो, म्युजिक लगायतको बिकल्पहरु हुने गर्छन् ।

३. अल निप्पोन एयरवेजः निप्पोनको गत बर्षको स्थान ५ औं थियो । यो जापानको ठूलो अन्तराष्ट्रिय एयरलाइन्स हो । निप्पोनले सरसफाई, सेवा र सुरक्षाका सन्दर्भमा यात्रुहरुको मन जितेको छ । निप्पोनले उत्कृष्ट एयरपोर्ट सेवा र एसियाको उत्कृष्ट एयरलाइन्स कर्मचारी सेवाको उपाधि पनि जितेको छ ।

२. सिङ्गापुर एयरलाइन्स: सिङ्गापुरले गत बर्षको तेस्रो स्थानबाट एक स्थान सुधार गरि दोस्रो स्थानमा आफुलाई उकालेको छ । कर्मचारीहरुको मिठो बोलिबचन र यात्रुहरु प्रतिको उच्च संबेदनशीलताको लागि सिङ्गापुर एयरलाइन्सलाई यात्रुहरुले मन पराएका हुन् । ब्यक्तिगत टि.भि र हात पुछ्न दिइने तातो रुमालको लागि सिङ्गापुर एयरलाइन्स चर्चित छ ।

१. कतार एयरवेज: कतार गत बर्षको दोस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको छ । आरामदायी सिट र मनोरञ्जनको बिकल्पहरुका लागि कतार यात्रुहरुको रोजाइमा परेको हो ।


पुष्प दुलाल