एएफसी कप २०१७ प्लेअफ खेल्नबाट वञ्चित, थ्री स्टारलाई डेढ करोड क्षतिपूर्ति




काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री स्टार फुटबल क्लबलाई १ करोड ५० लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ ।

एन्फाको लापरबाहीका कारण थ्री स्टार एसियाली फुटबल महासंघ (एएफसी) कप २०१७ प्लेअफ खेल्नबाट वञ्चित भएका थियो ।

जसको क्षतिपुर्ति स्वरुप एन्फाले थ्री स्टारलाई १ करोड ५० लाख क्षतिपुर्ति दिने विषयमा बुधबार सहमत जनाएको छ ।

गत अगस्ट २०१६ मा मंगोलियामा भएको प्रारम्भिक चरणको छनोटमा शीर्षस्थानमा रहदै थ्री स्टार एएफसी कप २०१७ प्लेअफका लागि छनोट भएको थियो । तर, एएफसीले ४ पटक पत्राचार गर्दा पनि एन्फाले टिम दर्ता नगरेपछि थ्री स्टार प्लेअफ खेल्नबाट वञ्चित भएको थियो ।

त्यसपछि थ्री स्टारले ६ करोडको क्षतिपुर्ति माग गर्दै फुटबलको गतिविधि बहिष्कार गर्ने घोषण गरेको थियो ।

 


पुष्प दुलाल