अब फुटपाथमा व्यवसाय गर्न नपाईने, फुटपाथ खुला गर्न १ सय नगर प्रहरी तालिममा



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाउने भएको छ । महानगरपालिकाले फुटपाथ कब्जा गरि पैदल यात्रुलाई अबरोध पुग्ने गरि गरिने व्यवसायलाई हटाउन लागेको हो ।

गत असार २ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गृह मन्त्रालयको एक कार्यक्रममा फुटपाथको ब्यापार हटाउने घोषणा गरेका थिए ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अबको दुई महिना भित्रमा महानगरभित्रका फुटपाथ पसल पूर्ण रुपमा हटाउने जानकारी दिए ।

‘महानगर कहिले पनि फुटपाथ ब्यवसायीको पक्षमा छैन । फुटपाथलाई पूर्णरुपमा हटाउनका लागि जनशक्तिको अभाव छ, त्यसका लागि थप १०० जना नगर प्रहरी तालिममा छन्,’ कार्कीले क्लिकमाण्डूसँग भने ।

जनशक्तिको अभावका कारण साँझ र बिहान फुटपाथ पसललाई त्यति सारो कडाई गर्न नसकिएको उनको भनाई छ । जसका कारण साँझ र बिहान फुटपाथमा अधिक व्यवसायीहरुको उपस्थित रहने गरेको छ ।

‘नयाँ नगरप्रहरीको आगमनसँगै महानगरको जनशक्तिमा वृद्धि हुन्छ, जनशक्तिमा वृद्धिसँगै फुटपाथ पसल निर्मुल पार्न सहज हुन्छ,’ कार्कीले भने ।

फुटपाथ व्यवसाय हटाएपछि महानगरपालिकाको फुटपाथ क्षेत्रमा पैदल यात्रीले सुरक्षित यात्रा गर्न सकिने बातावरण सिर्जना हुने दाबी गरेको छ ।

पैदल यात्रुको सुरक्षाका लागि निर्माण गरिएको फुटपाथ क्षेत्रमा व्यवसायीहरुले व्यापार गर्ने थलोको रुपमा प्रयोग गर्ने गरेकाले फुटपाथ असुरक्षित हुने गरेको छ ।

फुटपाथमा पसल हुने गरेकाले पैदल यात्रु सडकबाट हिड्नु पर्ने बाध्यता छ । जसका कारण सडक दुर्घटना निम्तिने गरेको छ ।


क्लिकमान्डु