कुन गाडीको ‘ब्रान्ड भ्यालू’ कति ?



काठमाडौं । सन् २०१७ का लागि विश्वका उत्कृष्ट ब्रान्ड भ्यालू भएका सवारी कम्पनीबारे बेलायतको कन्सल्टिङ फार्म ब्रान्ड फाइनान्सले एक रिपोर्ट तयार पारेको छ । ब्रान्ड फाइनान्सले भविष्यमा उक्त कम्पनीले गर्नसक्ने सवारी बिक्री र ब्रान्डमा उपयोग हुने रोयल्टी रेटलाई आधार मानेर रिपोर्ट तयार पारेको हो ।

टोयोटाले २०१७ को फेब्रुअरी १५ मा सार्वजनिक भएको नयाँ कार पीएचभी अगाडी पोज दिँदै जापानी नायिका ।

१, टोयोटा

सन् १९३७ मा जापानमा स्थापना भएको टोयोटाका कार हाल विश्वका सबैजसो मुलुकमा बिक्री हुँदै आएको छ । नेपालमा पनि टोयोटाका कार ५० वर्ष अघिदेखि औपचारिकरुपमा बिक्री हुँदै आएको छ । २०१७ का लागि टोयोटाको ब्रान्ड भ्यालू ४६ अर्ब ३० करोड अमेरिकी डलर रहेको छ ।

सन् २०१७ को फेब्रुअरी २१ मा हङकङमा भएको प्रस कन्फरेन्समा बीएमडब्लूको कारबाट निस्कदै चाइनिज एक्सन हिरो डोनी एन

२, बीएमडब्लू

 

जर्मन सवारी उत्पादक बीएमडब्लू २०१७ को उत्कृष्ट ब्रान्ड भ्यालू भएको कम्पनीको दोस्रो नंबरमा परेको छ जसको भ्यालू ३७ अर्ब १० करोड अमेरिकी डलर रहेको छ । बीएमडब्लू सन् १९१६ मा जर्मनीमा स्थापना भएको हो ।

३, मर्सिडिज-बेन्ज

जर्मन अटो जायन्ट डिमलर एजीका प्रमुख कार्यकारी अधिकृत डिटर जेटस्चर कम्पनीको वार्षिक प्रेस कन्फ्रेन्सका क्रममा मर्सिडिज-बेन्ज इक्यू कन्सेप्ट कारको अगाडीबाट हिँड्दै ।

मर्सिडिज-बेन्ज सन् १९२६ मा स्थापना भएको हो । प्रिमियम कार ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको जर्मन सवारी उत्पादक कम्पनी मर्सिडिको प्रख्याती विश्वभर नै रहेको छ । १० उत्कृष्ट ब्रान्ड भ्यालू भएको कम्पनीमा मर्सिडिज-बेन्ज ३५ अर्ब ५० करोड अमेरिकी डलरसहित तेस्रो स्थानमा रहेको छ ।

४, फक्सवागन

फक्सवागन पनि जर्मन सवारी उत्पादन कम्पनी हो । सन् १९३७ मा जर्मनीमा स्थापना भएको फक्सवागनका कार नेपाली बजारमा समेत लोकप्रिय रहेका छन् । २५ अर्ब अमेरिकी डलर ब्रान्ड भ्यालू भएको फक्सवागन उत्कृष्ट १० को चौथो स्थानमा रहेको छ ।

२०१५ को मार्च ४ मा स्वीजरल्यान्डको जेनेभामा भएको ८५औं जेनेभा इन्टरनेशनल मोटर सोमा डिस्प्ले गरिएको निसानको जीटी-आर एलएम निसोम एलएमपीवान ।

५, निसान

सन् १९३३ मा स्थापना भएको जापानी सवारी उत्पादक कम्पनी निसान उत्कृष्ट ब्रान्ड भ्यालू भएको १० कम्पनीको सुचीमा पाँचौं स्थानमा रहेको छ । २०१७ का लागि निसानको ब्रान्ड भ्यालू २४ अर्ब ८० करोड अमेरिकी डलर रहेको छ । निसानका सवारी नेपाली बजारमा आधिकारिक बिक्रेतामार्फत् नै विक्री हुँदै आएको छ ।

सन् २०१६ को नोभेम्बर २९ मा जर्मनीको कोलोगनेमा फोर्डको फियस्टा अघि पोज दिँदै फोर्ड युरोपका सीइओ तथा प्रमुख जीम फर्ले।

६, फोर्ड

फोर्ड अमेरिकाको लोप्रिय सवारी उत्पादक कम्पनी हो । यो कम्पनी सन् १९०३ मा स्थापना भएको हो । महंगो ब्रान्ड भ्यालू भएको कम्पनीको सुचीमा फोर्ट छैटौं स्थानमा रहेको छ । २०१७ का लागि फोर्डको ब्रान्ड भ्यालू २२ अर्ब ४० करोड अमेरिकी डलर रहेको छ । फोर्डका गाडी पनि नेपालमा आधिकारीक विक्रेता मार्फत नै बिक्री हुँदै आएको छ ।

क्याप्सनः टोकियोको चिवामा टोकियो अटो सलोन २०१७ मा होन्डाको नयाँ सिभिक ह्याचब्याक सार्वजनिक गर्दै होन्डा मोटरका कार्यकारी किमियोसी तेरातानी जनावरी १३ मा ।

७, होन्डा

जापानी कार निर्माता होन्डाका कार पनि विश्वभर नै लोकप्रिय रहेका छन् । सन् १९४८ मा स्थापना भएको होन्डा १० उत्कृष्ट ब्रान्ड भ्यालू भएको कम्पनीको सुचीमा सातौं स्थानमा रहेको छ । २०१७ का लागि होन्डाको ब्रान्ड भ्यालू २१ अर्ब ३० करोड अमेरिकी डलर रहेको छ ।

इटालीको टोरिनोमा अडीको स्पोन्सरसिपमा भएको क्लब टू क्लब इलेक्ट्रोनिक फेस्टिवल २०१६ मा अडीको नयाँ क्यू २ कन्सेप्ट एसयुभी प्रत्यक्ष रुपमा प्रस्तुत गरिँदै ।

८, अडी

जर्मन प्रिमियम कार उत्पादक कम्पनी अडी सन् १९०९ मा स्थापना भएको हो । पश्चिमा विश्वमा लोकप्रिय भएपनि नेपालमा अडीका गाडीको खासै उपस्थिति देखिँदैन । १२ अर्ब ५० करोड अमेरिकी डलर ब्रान्ड भ्यालू रहेको अडी ८औं स्थानमा रहेको छ ।

९, पोस्र्च

अमेरिकाको लस एन्जलसमा भएको लस एन्जलस अटो शोमा २०१६ को नोभेम्बर १६ मा जर्मन सवारी उत्पादक कम्पनी पोस्र्च अटोमोबाइल होल्डीङले उत्पादन गरेको एसइ ९११ आरएसआर रेस कार सार्वजनिक गरिँदै ।

पोस्र्च कम्पनी सन् १९३१ मा जर्मनीमा स्थापना भएको हो । पोस्र्च मुख्य गरि रेसिङ कार उत्पादकको रुपमा चर्चित कार निर्माता कम्पनी हो । यो कम्पनी २०१७ को प्रमुख १० भ्यालूएवल ब्रान्डको ९औं स्थानमा रहेको छ । यसको ब्रान्ड भ्यालू १२ अर्ब ४० करोड अमेरिकी डलर रहेको छ ।

२०१६ को नोभेम्बर १७ मा चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउमा आयोजित सेब्रोले इभेन्टमा सेब्रोलेको क्रुज आरएस कारको अघिल्तिर रहेर प्रस्तुती दिँदै चिनियाँ गायिका जी इ एम ।

१०, सेब्रोले

अमेरिकी कार उत्पादक कम्पनी सेब्रोले सन् १९११ मा स्थापना भएको हो । विगतमा सेब्रोलेका गाडी नेपालमा आधिकारीक रुपमा आएपनि पछिल्लो समय आउन सकिरहेको छैन ।

अमेरिकाको चर्चित कार कम्पनी सेब्रोले २०१७ को १० उत्कृष्ट भ्यालूएवल ब्रान्डको १०औं स्थानमा रहेको छ । सेब्रोलेको ब्रान्ड भ्यालू ११ अर्ब ५० करोड अमेरिकी डलर रहेको छ ।


पुष्प दुलाल