पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा



चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालया  अनुसार पहिरो पन्छाइएपछि साँझ ६ः३० बजेदेखि सडक सञ्चालनमा आएको हो । मुग्लिनबाट २ दशमलव ५ किमी नारायणगढतर्फ कालीखोला नजिकै गए राति १ बजेर ५ मिनेट जाँदा पहिरो खसेको थियो । पहिराले इलाका प्रहरी कार्यालय मुग्लिनको गाडी त्रिशूलीमा खसाल्दा प्रहरी सहायक निरीक्षकसहित दुई जनाको मृत्यु भएको तथा दुई जना बेपत्ता भएका छन् ।

सोही पहिराले एक ट्रकसमेत त्रिशूलीतर्फ खसाल्दा भिरमा अड्किएर बसेको छ । सो ट्रकका सहचालक घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार दुई हजार घनमिटरभन्दा बढी पहिरो खसेको थियो । पहिराले सडकको ४० मि क्षेत्र पुरेको थियो । दुई एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो । खनालका अनुसार बिहीबार राति ९ः४० बजे कालीखोलाको मुखमा पहिरो खसेको थियो ।

पहिरो पन्छाउँदै गर्दा राति ११ बजे चारकिलो भन्ने ठाउँमा पहिरो खसेको थियो । आज अपराह्न करिब १ बजे चारकिलोको पहिरो पूरै पन्छाएर दुईतर्फी सवारी आवागमन सञ्चालनमा ल्याइएको थियो । राति ९ बजेपछि सडकका ठाउँ ठाउँमा समय समयमा पहिरो खसेका कारण बिहीबारदेखिका सवारीसाधन लाममा लागेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार सवारी चापका कारण नारायणगढतर्फ केन्द्रीय बस ट्रमिनल भरतपुर र मुग्लिनतर्फ कुरिनटारसम्म सवारी लाम लागेका छन् । एक दिनमा सो सडक हुँदै ११ हजार सवारी आवागमन गर्छन् । पन्तले १० हजारभन्दा बढी सवारीसाधन लाममा रहेको बताए। थप पहिरो नखसेमा सो सडक पार हुन ६ घन्टाभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु