एयरलाइन्स कम्पनीको चुक्ता पुँजी १० गुणा बढाउने तयारी



काठमाडौं । सरकारले एयरलाइन्स कम्पनीहरुको चुक्तापुँजीमा भारी बृद्धि गर्ने तयारी गरेको छ ।

जसमा अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको ५ अर्ब  र आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने तयारी सरकारले गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन नियमावली-२०७० लाई संसोधन गर्दै एयरलाइन्स कम्पनीहरुको चुक्तापुँजी बृद्धि गर्न लागेको हो ।

सरकारले पहिलोपटक-२०५८ सालमा नियमावली जारी गरेको थियो । उक्त नियमावली पहिलो संसोधन-२०७० र दोस्रो पनि पुनः २०७० मै संसोधन गरिएको थियो ।

हाल मन्त्रालयले तेस्रो संसोधनको ड्राफ्ट तयार गरिरहेको छ । संसोधनपश्चात आन्तरिक उडान भर्ने एयरलाइन्सको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउने तयारी भएको छ । अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने तयारी भएको छ ।

अहिले आन्तरिकतर्फ २० करोड रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ५० करोड रुपैयाँ मात्र चुक्ता पुँजी रहेको छ । जस अनुसार सरकारले आन्तरिकतर्फ हालकोभन्दा पाँच गुणा र अन्तर्राष्ट्रियतर्फ १० गुणा बृद्धि गर्न लागिएको हो ।

‘जहाजको मूल्य र हालको चुक्ता पुँजीबीच धेरै अन्तर भएपछि बृद्धि गर्नेगरी नियमावली संसोधन गर्न लागेका हौ,’ मन्त्रालय स्रोतले भन्यो ।

एउटा एयरलाइन्स कम्पनीसंग अर्वौ रुपैयाँ पर्ने जहाज रहेको तर चुक्ता पुँजी एकदमै न्यून रहेकोले नियमावली संसोधन-२०७४ मा चुक्ता पुँजी बढाउने तयारी मन्त्रालयले गरेको हो ।

नेपालमा हाल आन्तरिकतर्फ बुद्ध, यति, तारा, सिम्रिक, श्री, सीता गरी दर्जनौ एयरलाईन्स कम्पनी छन् । भने अन्तर्राष्ट्रियतर्फ पनि केही अनुमती लिएर बसेका छन भने केही एयरलाइन्सले उडान भर्दै आएका छन् ।

हाल बुद्धले ९ वटा विमान बाट १२ वटा गन्तव्यमा उडान भर्दै आएको छ । त्यस्तैगरी यतिले ७ वटा विमानमार्फत १० वटा गन्तव्यमा उडान भर्दै आएको छ । तारा एयरले ८ वटा विमान मात्र १४ गन्तव्यमा उडान भर्दै आएको छ ।

त्यस्तै समिट, सिम्रिक, सीता, मकालु, एयर काष्ठमन्डपले पनि उडान भर्दै आएका छन् । त्यस्तैगरी हेलीकप्टरतर्फ फिस्टेल, एयर डाइनाष्टी, माउन्टेन, श्री एयर, अल्टीच्युट, सिम्रिक लगायत हेलीकप्टर कम्पनी रहेका छन् ।


क्लिकमान्डु