बीमा बापतको क्षतिपूर्ति पाएपछि जुम्लाका स्याउ कृषक खुसीले दङ्ग



जुम्ला। मौसममा आधारित स्याउखेतीको बीमा गरेका जुम्लाका कृषक क्षतिपूर्ति पाएपछि दङ्ग  छन् ।

शिखर इन्स्योरेन्स कम्पनी र सक्षम कार्यक्रमद्वारा यहाँ आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । कार्यक्रममा गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका १४७ किसानमध्ये  १०५ जनाले क्षतिपूर्ति पाएका हुन् । मौसमी स्याउ असिना र सुख्खा खडेरीले क्षति पु¥याएकाले बीमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको सो कम्पनीका क्षेत्रीय प्रबन्धक ऋषिराम पाण्डेले बताए ।

हामीले १० वटा स्याउका बोट बराबर दुई हजार ९२१ रुपैयाँ उपलब्ध गराएका छौँ, जसमा अधिकतम् १४ हजार ६०५ रुपैयाँ र न्यूनतम दुई हजार ९२१ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको उनले जानकारी दिए ।

सुरुको वर्षमा ४७ जनाले मौसमी स्याउ बीमा गरेकामा कुनै क्षति नपुगेको तर पछिल्लो समयमा बीमा गरेका किसानको स्याउमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराएको उनको भनाइ छ ।

सक्षम कार्यक्रमका जिल्ला संयोजक सुजीत श्रेष्ठले मौसम सूचकाङ्का आधारमा नेपालमै पहिलो पटक जुम्लामा परीक्षण परियोजनाका रुपमा कार्यक्रम लागू गरिएको बताए । जुम्लाका आठवटै स्थानीय तहमा मापन केन्द्र स्थापनागरी स्याउ बीमा कार्यक्रमलाई अघि बढाउने उनले बताए ।

कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान दङ्ग भए ।

‘बीमा गर्नुपर्छ भन्दा एक बोट बराबर ४० रुपैयाँ तिर्न हामी निकै तर्सिएका थियौं, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो,’ स्थानीय कृषक जगप्रसाद जैसीले भने ।

कृषक हरिशोभा अधिकारी र तिलारुपा पाण्डेले सुरुमा बीमा गर्न मन नलागेपनि अहिले रहर जागेर आएको बताए ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन’ परियोजना कार्यान्वयन इकाई कार्यालयका प्रमुख विष्णुप्रसाद शर्माले बोटको उत्पादनका आधारमा राहत तोक्नुपर्नेमा जोड दिए । जोखिमको सुक्ष्म अध्ययनगरी स्याउको व्यवसायीकरण र उद्योग व्यवसायलाई सँगसँगै लिनसके जुम्ला मात्र नभई आसपासका जाजरकोट, कालिकोट मुगु पनि सुपरजोन हुनसक्ने उनको तर्क थियो ।


क्लिकमान्डु