सुडान काण्डः पूर्वप्रहरी एआईजी श्यामसिंह थापा जेल चलान



काठमाडौँ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा जेल चलान भएका छन् ।

सुडान घोटालाका आरोपित कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं ४, धूम्रबाराही बस्ने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक थापा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएका सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।

थापालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।

थापाले सजाय छुटका लागि सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका थिए । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।

सोही प्रकरणका आरोपित पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई यही असार ७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो । चारैजनाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले गत वैशाख १७ गते ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार रुयैयाँ जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई एक/एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

सामान खरिद गर्दा योजना तर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदार मिलेर नेपाल सरकारलाई २८ करोड ८१ लाख ६१ हजार २२९ हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको अदालतले ठहर गरेको थियो ।

सुडान घोटाला प्रकरणमा पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ तथा रवीन्द्रप्रताप राणालाई छ महिना कैद र ३० हजार जरिवाना, दीपकसिंह थाङ्ग्देनलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने सोही दिन सर्वोच्चले फैसला सुनाएको थियो । घटनाका अन्य दोषी हालसम्म फरारको सूचीमा छन् । रासस


पुष्प दुलाल