नाडा अटो शो भदौ दोस्रो सातादेखि




काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आगामी भदौ १३ देखि १८ गतेसम्म नाडा अटो शो हुने भएको छ । अटो शोको लागि रजिष्ट्रेसन समेत खुल्ला गरिएको छ । अटोमोबाइल व्यवसायीहरुले आफ्नो स्टल राख्नका लागि आगामी असार १२ देखि १४ सम्म सम्पर्क गर्नु पर्ने व्यवस्था गरिएको छ ।

राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सम्पन्न हुने उक्त अटो शोमा नयाँ गाडी तथा अटोमोबाइल सम्बन्धी विभिन्न प्रदर्शनी आयोजना गरिने छ । नाडाले प्रत्येक वर्ष यस प्रकारको अटो शो आयोजना गर्दै आएको छ ।

अटो शोमा नेपालमा अवस्थित सम्पुर्ण ब्राण्डका चार पांग्रे, २ पांग्रे सवारी साधन तथा अटोसँग सम्बन्धित सामग्रीहरु रहने बताइएको छ । मेलामा सवारीका साथसाथै बैंक तथा वित्तीय संस्था, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स लगायतका स्टलहरु पनि रहनेछन् ।
प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसेसरिजहरुको सहभागिता रहने छ, जसमा नेपालमै उत्पादित सामग्रीहरु समेत रहने छन् ।
नाडा अटो शो अवलोकन गर्न आउनेहरूमा सर्वसाधारण बाहेक अटो उद्योगी, व्यापारी, व्यापार विश्लेषक, अर्थशास्त्री तथा नीति निर्माताहरू पनि हुने छन् । अटो शोको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल हो भने इभेन्ट व्यवस्थापक ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) रहेको छ ।


पुष्प दुलाल