बीमा कम्पनीहरुले कस्ता कम्पनीको सेयर किन्छन् ?



काठमाडौं । सेयर बजारमा लगानीगर्दा कम्पनी छान्ने बिभिन्न तरिकाहरु हुन्छन् । कम्पनीको आधारभुत र प्राविधिक बिश्लेषण गरि कम्पनी छान्ने सामान्य र प्रचलित तरिका हुन् । लगानीकर्ता आफैंले वा अरु कसैको सहयोगमा यसो गर्न सक्छन् ।

यसका अलावा ठूला लगानीकर्ताको पोर्टफोलियो हेरेर पनि लगानीकर्ताले राम्रो वा फाइदा हुन सक्ने कम्पनी छान्न सक्छन् । ठूला लगानीकर्ताले विज्ञहरुको सहयोगमा बजार र कम्पनी अनुसन्धान गरेर लगानी गर्ने हुनाले आम लगानीकर्ताले यसबाट फाइदा लिन सक्छन् ।
यसका लागि लगानीकर्ताले म्युचल फण्डहरु र ठूला लगानीकर्ताहरुको पोर्टफोलियो हेर्न सक्छन् ।

नेपाल लाइफ इन्स्योरेन्स नेपालको अग्रणी जीवन बीमा कम्पनी हुनुको साथै नेपाली सेयर बजारको ठूलो लगानीकर्ता हो । गत आर्थिक बर्ष नेपाल लाइफले ५० करोड रुपैंयाँ हाराहारी खुद नाफा कमाएको थियो ।

गत आर्थक बर्षको असार ३१ गते नेपाल लाइफसँग १ अर्ब ४५ करोड रुपैंयाँ बराबरको सेयर थियो । ती सबै सेयरहरुको कुल परल मुल्य १ अर्ब ९ करोड रुपैंयाँ थियो । सो दिन कम्पनीसँग बिभिन्न ५८ कम्पनीको साधारण र संस्थापक समूहको सेयर थियो ।

कम्पनीसँग सो दिन सबैभन्दा बढी नेपाल टेलिकमको १३ करोड ६८ लाख रुपैंयाँ बराबरको सेयर थियो । उक्त सेयरको परल मुल्य १२ करोड ५८ लाख रुपैंयाँ थियो ।

परल मुल्यको हिसाबले कम्पनीले धेरै लगानी गरेको १० कम्पनी मध्ये चिलिमेमा मात्र घाटाको स्थितिमा थियो । अन्य सबै सेयर नाफाकै स्थितीमा थिए । अर्थात्, परल मुल्य भन्दा बजार मुल्य भन्दा बढी थियो । चिलिमेमा धेरै सर्वसाधारणले पनि ठूलो धनराशी गुमाएका छन् ।

कम्पनीको ब्यवसाय नबढ्ने र बोनस सेयरका कारण हरेक बर्ष प्रतिसेयर आम्दानी घट्दै जाँदा बोनस सेयर वा लाभांश दर पनि घट्दै जाने भएका कारण चिलिमेको मुल्यमा गिरावट आएको हुनसक्छ ।

नेपाल रि-इन्स्योरेन्स कम्पनीको भने नेप्सेमा कारोबार नभएका कारण सो कम्पनीको सेयर मुल्यमा घटबढ आउने कुरा भएन ।

नेपाल लाइफलगायत अन्य ठूला लगानीकर्ताको पोर्टफोलियो अध्ययन गरेर पनि साधारण लगानीकर्ता धेरै लाभान्वित हुन सक्छन् ।

त्यसैले यहाँ गत असार ३१ गते नेपाल लाइफको ठूलो लगानी कुन-कुन कम्पनीमा थियो भनेर यहाँ प्रस्तुत गरिएको छ । यो तथ्याङक नेपाल लाइफको गत बर्षको बार्षिक बिवरणबाट लिइएको हो ।

आर्थिक वर्ष २०७२/०७३ मा नेपाल लाइफले लगानी गरेका कम्पनीहरु

कम्पनी सेयर संख्या (कित्ता) परल मुल्य बजार मुल्य (तत्कालीन)
नेपाल टेलिकम १९८,६४५ १२५,८३४,०५६ १३६,८६६,४०५
नेपाल बैंक लिमिटेड २,६६,०६३ १०८,५०२,५५५ १२५,०४९,६१०
एनसीसी बैंक २,४७,९५२ ८९,८४६,८९५ ९०,००६,४७६
नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक सेयर) ८९,१४८ ७०,५८८,५७७ ७९,९६५,७५६
प्राइम कर्मशियल बैंक ९५,२७८ ६५,१४२,२१७ ७१,०७७,३८८
एनआइसी एसिया बैंक (संस्थापक सेयर) ५,०९,५२१ ६१,१९०,४०० २९३,९९३,६१७
चिलिमे हाइड्रो ३२,९६१ ५४,९५४,७२३ ४७,४६३,८४०
नेपाल रिइन्स्योरेन्स कम्पनी (सस्थापक सेयर) ५,०१,६६६ ५०,१६६,६०० ५०,१६६,६००
बैंक अफ काठमाडौं (संस्थापक सेयर) २,२९,९६९ ४०,८२५,४०१ ४५,९९३,७८०
नबिल बैंक (संस्थापक सेयर) २९,६५३ ३९,०५५,५७५ ५२,९३०,६०५

 


पुष्प दुलाल