कतार जाने नेपालीको संख्या ४० प्रतिशत घट्यो




काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या ४० प्रतिशतले गिरावट आएको छ । ३ साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण नेपालीको संख्यामा भारी गिरावट आएको हो ।

पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो । केही महिनासम्म मासिक १२ हजारको संख्यामा युवा रोजगारीकै लागि कतार पलायन भइरहेका थिए । कतारमाथि अन्य खाडी मुलुकले लगाएको नाकाबन्दीसँगै त्यहाँ जानेको संख्यामा गिरावट आएको हो ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका अनुसार जेठ ९ गतेदेखि असार ९ गतेसम्म कतारका लागि ८ हजार २ सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्लो महिनाको तुलनामा चार हजारले कम हो ।

यो सामान्य अवस्थाभन्दा ४० प्रतिशत कम हो । कार्यालयका अनुसार नाकाबन्दीअघि सरदर दैनिक ४ सय कामदारले अन्तिम श्रम स्वीकृति लिने गरेकोमा अहिले पुरै घटेको छ ।

पछिल्लो एक महिनामा कतारबाट नयाँ माग आउन सकेको छैन । सबै पुरानो मागमा युवा अहिले कतार गइरहेका छन् । मलेसिया, दुबई र साउदी अरबमा आएको आर्थिक संकट तथा आन्तरिक समस्याका कारण नेपाली रोजगारीको अवसर गुमाउन पुगेको थिए ।

कतारले सन् २०२२ मा सञ्चालन हुने विश्वकप फुटबलको तयारीसँगै निमार्णमा तीव्रता दिँदा रोजगारीको अवसरका बढेको थियो । नेपालबाट अहिलेसम्म १२ लाखभन्दा बढी युवाले कतार जान अन्तिम श्रम स्वीकृत लिइसकेका छन् ।

५ लाखभन्दा बढी युवा अहिले कतारमा काम गरिरहेका छन् । चालू आर्थिक वर्षको १० महिनामै १ लाख २० हजार जति युवा कतार पुगिसेका छन् ।

 


पुष्प दुलाल