वैदेशिक रोजगारीमा ठगिनुभयो, यो नम्बरमा फोन गर्नुहोस्



काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको उद्घाटन गरे ।

सो अवसरमा उनले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग समन्वय गर्नेगरी कक्षले काम गर्ने जानकारी दिए ।

‘दिनहुँ वैदेशिक रोजगारीका अनेक समस्या लिएर म कहाँ बिभिन्न व्यक्ति आइरहनुभएको छ, उहाँहरुले अब यही कक्षमा जानकारी गराए पनि माग सम्बोधन हुनेगरी व्यवस्था मिलाएका छौँ ।’ उनले भने ।

कुनै समस्या परे विभाग र बोर्डमा गएर जानकारी वा उजुरी दिनु नै उपयुक्त व्यवस्था हुने तर त्यहाँ समाधान त्यहाँबाट सुनुवाइ नभए यहाँ आएर पनि निवेदन दिन सकिने मन्त्री मन्सुरले बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र अत्यधिक लाभदायक बनाउन आफू प्रयत्नशील रहेको उनको भनाई छ । उनले निःशुल्क टिकट र प्रवेशाज्ञाको विषयलाई थप प्रभावकारी र लाभदायी बनाउन गृहकार्य भइरहेको जानकारी दिए ।

‘म व्यक्तिगत लाभमा चल्ने मान्छे होइन, म रहुँन्जेल विभाग र बोर्डमा पनि लाभ लिने गरी काम गर्नेलाई छोड्दैन ।’ उनले भने ।

पीडितले मन्त्रालयमै आएर, फोन वा इमेलमार्फत पनि आफ्ना गुनासो वा उजुरी दर्ता गर्न सक्नेछन् । कक्षको फोन नं ०१४२११६९६, भाइबर ९८४६०३१२८१ मा उजुरी गर्न सक्ने छन् ।रासस


क्लिकमान्डु