सौरभ ग्रुपले ३ अर्ब २७ करोड लगानीमा सर्बोत्तम ब्राण्डको स्टील ल्याउँदै



काठमाडौं । औद्योगिक घराना सौरभ ग्रुपले स्टील उद्योगमा ३ अर्ब २७ करोड रुपैयाँ लगानी थप्ने भएको छ । सिमेन्ट तथा स्टील उद्योगमा अग्रणी मानिएको सौरभ ग्रुपले सर्वोत्तम ब्राण्डमा नयाँ डन्डी बजारमा ल्याउन लागेको हो ।

कम्पनीले सर्वोत्तम स्टील्स प्रालि नाममा उद्योग चलाउने अनुमति उद्योग विभागबाट पाएको छ । उद्योग विभागमा कम्पनीले पेश गरेको विवरण अनुसार पर्साको बीरगन्जमा कम्पनीले कारखाना लगाउने छ ।

कम्पनीले केही दिन अगाडि सर्वोत्तम ब्राण्डमा सिमेन्ट ल्याइसकेको छ । लक्ष्मी स्टीलपनि सौरभ ग्रुप अन्तर्गतको कम्पनी हो ।

‘अहिले ग्रुपको स्टीलमा पश्चिमा नवलपरासीमा उद्योग छ,’ ग्रुप निकट स्रोतले भन्यो, ‘नयाँ उद्योग बीरगन्जलाई केन्द्रबिन्दु बनाएर ल्याउन लागिएको हो ।’

बजारमा सर्वोत्तम सिमेन्ट गइसकेको हुँदा सर्वाेत्तम नाम डन्डी जाने छ । निर्माण सामाग्री उद्योगमा सौरभ ग्रुपको लगानी धेरै ठूलो छ । जगदम्बा सिमेन्ट,सर्वोत्तम सिमेन्टमा ग्रुपको लगानी रहेको छ ।

अहिले परासीमा रहेको लक्ष्मी स्टीलबाट दैनिक ५ सय टन क्षमता रहेकोमा बीरगन्जको सवोत्तम स्टीलबाट यसको दोब्बर १ हजार टन उत्पादन हुने छ ।

उद्योगले ३ सय ३७ जनालाई रोजगारी दिने प्रतिबद्धता उद्योग विभागमा पेश भएको विवरणमा उल्लेख छ ।

पछिल्लो समय स्टील उद्योगमा व्यवसायिक घरानाहरुको लगानी बढेको छ । नयाँ समुहपनि स्टील उद्योगमा आउन लागेका छन् भने पुराना उद्योगहरुले पनि क्षमता विस्तार गर्दैछन् ।

नेपालमा निर्माण क्षेत्रमा राम्रो सम्भावना रहेको हुँदा सिमेन्टसँगै स्टील उद्योगको पनि राम्रो सम्भावना भएको क्षेत्रमा पर्छ ।


पुष्प दुलाल