भारतीयलाई क्यासिनो खेलाउन रुपन्देहीमा यस्तो बन्दैछ ५ तारे ‘टाइगर प्यालेस’ होटल



काठमाडौं । रुपन्देहीको कोटिहवामा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिको सुविधा सम्पन्न ५ तारे रिसोर्ट ‘टाइगर प्यालेस’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालि हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको नेपालमा लगानी गर्न बनेको सहायक कम्पनी हो ।

३ अर्ब रुपैयाँ विदेशी लगानीमा निर्माण हुने उक्त लक्जरी रिसोर्ट अगामी ६ महिनाभित्र संचालनमा ल्याउने लक्ष्य राख्दै निर्माण कार्यलाई दु्रतगतिमा अघि बढाएको छ ।

सरकारले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरुगरेसँगै ग्रुपले पनि रिसोर्ट निर्माण थालेको थियो । करिब १५ विगाहा जमिनमा फैलिने रिसोर्टको नाम ‘टाइगर प्यालेस’ राखिएको छ ।

रिसोर्टका भवनले मात्र २ विगाहा क्षेत्रफल ओगटेको सिल्भर हेरिटेजका अध्यक्ष राजेन्द्र बजगाईंले जानकारी दिए ।

रिसोर्टमा ४ सय कोठाहरु बनाउने लक्ष्य राखिएको छ । तर, पहिलो चरणमा सय कोठाहरु तयार गरिएको छ । आगामी दुई वषभित्र रिसोर्टमा तीन सय कोठाहरु थप्ने बजगाईं बताउँछन ।

रिसोर्टका कोठाहरु डिलक्स, सुपर डिलक्स, स्वीट प्रकृतिका हुने उनको भनाई छ ।

रिसोर्टमा स्वीट रुम र पौडी पोखरी आपसमा जोडिएका हुनेछन् । सबै स्वीट रुमबाट सिधै स्वीमिङ पुलमा ‘डाइभ’ हान्न सकिने छ । स्वीट रुमका लागि भिल्लाहरु समेत निर्माण भइसकेको बजगाईंले बताए ।

६ महिना अगाडीनै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भएता पनि राष्ट्र बैंकमा प्रशासनिक प्रक्रिया नपुग्दा पैसा आउन ढिला भएकोले रिसोर्ट संचालन पनि ६ महिना थकलिएको बजागाईले बताए ।

‘अहिले रिसोर्टका धमाधम काम भइरहेको छ,’ बजगाईंले भने ‘यही नोभेम्बरमा रिसोर्टको सफ्ट ओपनिङ गर्ने हाम्रो लक्ष्य छ ।’

रिसोर्टमा पहिलो चरणको काम सम्पन्न गर्न २ अर्ब लाग्ने अनुमान गरिएको छ । दोस्रो चरणमा कोठाहरु थप्नका लागि एक अर्ब लाग्ने अनुमान छ ।

रिसोर्टले खर्चालु पर्यटक भित्राउने लक्ष्य राखेको छ । खासगरी इन्डियन फेमिली र विवाह गर्ने खानदानी परिवारलाई रिसोर्टमा ल्याइने छ । पछिल्लो समय भारतका खानदानी परिवारले नेपाल आएर विवाह गर्न थालेका छन् । यही समुदायलाई रिसोर्टले आकर्षित गर्ने लक्ष्य राखेको छ ।

रिसोर्टमा ७ सय जना अटाउने ठूलो हल हुने छ । अरु साना हलहरु पनि रिसोर्टमा हुनेछन् । रिसोर्टमा एउटा ठूलो र केही साना स्वीमिङ पुलहरु बनाइने छ ।

भिल्लाहरुबाट स्वीमिङ पुलमा डाइभ हान्न मिल्ने गरी धेरै स्वीमिङ पुल पनि बन्दै छन् । रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फनपार्क लगायतका सुविधाहरु रहने छन् ।

भारतीय पर्यटकलाई लक्षित गरि क्यासिनो

रिसोर्टमा क्यासिनो समेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । तर, क्यासिनो दोस्रो चरणमा मात्र सञ्चालनमा आउने छ । लुम्बिनी क्षेत्रमा भारतीय नागरिक क्यासिनो खेल्न आउने गर्छन् ।

अहिले भैरहवामा भएका दुईवटा मिनी क्यासिनोमा भारतीय भरिभराउ हुन्छन् । टाइटर प्यालेस रिसोर्टमा क्यासिनो खेल्न खर्चालु भारतीय भित्राउने लक्ष्य राखिएको छ ।

‘हाम्रो रिसोर्टमा एउटा पाँचतारे होटलमा हुनुपर्ने सबै सेवा सुविधाहरु उपलब्ध गराउँछौं’ बजगाईंले भने, ‘हाम्रो उद्देश्य ग्राहकले खर्च गरेअनुरुप रिसोर्टका सेवा सुविधाबाट सन्तुष्टी प्राप्त गरोस भन्ने नै हो ।’

लक्ष्य पाँच वटा पाँच तारे होटल

ग्रुपको लक्ष्य भैरहवा, झापा, धनगढी सहित काठमाडैंमा गरी पाँचवटा पाँच तारे होटल खोल्ने महत्वकांक्षी योजनामा छ । पहिलो चरणमा ५ अर्व रुपैयाँ लगानी गर्ने लक्ष्य राखेको कम्पनीले दुई अर्व रुपैयाँ यसअघिनै नेपाल ल्याइसकेको छ ।

‘अहिले भैरहवा र झापामा रिसोर्ट निर्माण गर्ने हो,’ बजगाईंले भने । अहिले आएको ३ अर्व ५ करोड रुपैयाँ भैरहवा र झापामा लगानी गर्ने तयारी ग्रुपको छ ।

उद्योग बिभागले जेठ २८ गते राष्ट्र बैंकलाई सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालीले आफ्नो पूँजी १ अर्ब ९५ करोडबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ पु¥याउन लागेको जानकारी दिएको थियो ।

जानकारी पत्रका अनुसार सिल्भर हेरिटेज ग्रुपले एसएचएल सर्भिसेजमा ७५ करोड, टाइगर वानमा ८५ करोड रुपैयाँ र टाइगर टुमा १ अर्ब ४५ करोड रुपैयाँ थप लगानी गर्न लागेको हो ।

नेपालमा सन् २०१२ मा भित्रिएको हो । जसले अहिले काठमाडौंको सांग्रीला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो संचालन गरिरहेको छ । यो क्यासिनो एसएचएल सर्भिसेजको नामबाट संचालन भइरहेको छ ।

सिल्भर हेरिटेज ग्रुप गत अगस्ट २९ मा अष्ट्रेलियन सेकुरिटिज एक्सचेन्जमा सूचिकृत समेत भएको थियो । नेपालको पर्यटन र जलविद्युत्मा लगानी गर्ने उद्देश्य राखी स्थापना भएको यो कम्पनीले सन् २०२२ सम्ममा तीनवटा पाँचतारे होटेल संचालन गर्ने लक्ष्य राखेको छ ।

सिल्भरले संचालन गर्ने तीनवटै ५ तारे होटेलमा क्यासिनोसहितको आधुनिक सुविधा रहने छन् ।

यो पनि पढ्नुहोस्- सिल्भर हेरिटेजले राष्ट्र बैंकबाट पायो ३ अर्ब विदेशी लगानी भित्र्याउने अनुमति सिल्भर

 


पुष्प दुलाल