चौधरी फाउण्डेसनद्वारा जीर्णोद्धार गरिएका पशुपति क्षेत्रका सम्पदा कोषलाई हस्तान्तरण



काठमाडौं। पशुपति क्षेत्रभित्र चौधरी फाउण्डेसनले जीर्णोद्धार तथा मर्मत सम्भार गरेका सम्पदाहरु पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत वत्सलेश्वरी क्षेत्रमा निर्मित सम्पदाहरु हस्तान्तरण गरिएको हो । शुक्रबार पशुपतिक्षेत्रमा आयोजित एक समारोहका बीच फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई उक्त सम्पदाहरु हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि बोल्दै कोषका सदस्य सचिव टण्डनले पशुपति क्षेत्रभित्रका सम्पदाको जीर्णोद्धार गरेर चौधरी फाउण्डेसनले सामाजिक तथा धार्मिक दुवै क्षेत्रमा आफूलाई अगुवा प्रमाणित गरेको बताए । चौधरी फाउण्डेसनले गरेको कार्य अन्य संघसंस्थाका लागि पनि प्रेरणादायी हुने विश्वास पनि उनले व्यक्त गरे ।

चौधरी फाउण्डेसनद्वारा नवलपरासीमा निर्मित शाश्वत धाम अन्तर्गत सनातन धर्मको जगेर्ना र संरक्षणका लागि पनि कोषसँगको सहकार्यमा उल्लेख्य योगदान पु¥याउन चाहेको फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल र भारतबीच भाइचाराको सम्बन्ध रहेको बताउँदै पशुपतिप्रति भारतीय नागरिकको पनि उत्तिकै श्रद्धा रहेको बताए । धार्मिक एवं सांस्कृतिक रुपले ठूलो महिमा रहेको पाशुपत क्षेत्रका सम्पदा जीर्णोद्धार गरेर चौधरी फाउण्डेसनले पुण्य कमाएको उनले टिप्पणी गरे ।

पशुपतिनाथ क्षेत्रमा रहेका आर्यघाट, भष्मेश्वरघाट र वत्सलेश्वरी क्षेत्रका मन्दिर, पाटी तथा घाट मर्मत सम्भार एवं जीर्णोद्धारका लागि चौधरी फाउण्डेसन र कोषबीच सम्झौता भएकोमा हाल वत्सलेश्वरी क्षेत्रका वत्सलेश्वरी मन्दिर तथा पाटी, मंगलागौरी मन्दिर, श्री अनन्तादिनारायण मन्दिर, खानेपानी धारा लगायतका सम्पदाहरुको जीर्णोद्धार एवं मर्मत सम्भार सम्पन्न भएको हो ।

आगामी चरणमा भष्मेश्वरघाट र आर्यघाटको जीर्णोद्धार गर्ने फाउण्डेसनको योजना रहेको संस्थाले जनाएको छ ।


क्लिकमान्डु