नेपाली कपडा उद्योगः जसले रोडपतिलाई करोडपति र करोडपतिलाई रोडपति बनायो



काठमाडौं । बृजगोपाल इनानी नेपाली व्यवसायीक जगतमा कुनैबेला चर्चित नाम हो । कुनैबेला नेपालबाट सबैभन्दा बढी तयारी पोशाक इनानीको उद्योग महालक्ष्मी गार्मेन्टले निर्यात गर्नेमा आउँथ्यो ।

अहिले इनानीलाई धेरै नचिन्नपनि सक्छन् । उनको परिचय अहिले ऋण नतिर्ने व्यवसायीमा पर्छन् ।

राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ९० करोड रुपैयाँ ऋण तिर्न नसकेपछि इनानीको उद्योगलाई बैंकले लिलामी गर्न लागेको थियो । यसको विरुद्धमा ऋण असुली न्यायधिकरणमा मुद्दा परेको थियो ।
न्यायधिकरणले बैंकको पक्षमा फैसला गर्यो । अहिले यो मुद्दा सर्बोच्च अदालतमा विचाराधीन रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा पूर्व अध्यक्ष चण्डी ढकाल पनि गार्मेन्ट व्यवसायले उकासेर थला पारेका व्यवसायीमा पर्छन् । उद्योग वाणिज्य महासंघको राजनीतिमा सधै सक्रिय हुने ढकालको मोमेन्टो गार्मेन्ट कुनैबेला तयारी पोशाक निर्यात गर्ने ठूलो कम्पनी भित्रमा आउँथ्यो ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डिका अर्याल वालमार्टलाई तयारी पोशाक बिक्री गर्ने व्यवसायी अहिले अमेरिकामा जागिर खाएर बस्नुपर्ने अवस्था आएको बताउँछन् ।

तर, ढकालले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि कालोसूचिमा परे । अहिले भने उनी कालोसूचिमा छैनन् । कालोसूचिबाट हट्न उनले आफ्नो भएको सम्पत्ति बिक्री गर्नु परेको थियो । उनले केही साता अगाडि क्लिकमाण्डुसँगको कुराकानीमा गार्मेन्टमा सक्रिय हुने बताएका थिए । यद्यपि सम्भावना भने निकै कम छ ।

नेपालामा २०४६ सालको राजनीतिक परिवर्तनपछि फस्टाएको उद्योगमा गार्मेन्ट उद्योग हो । विदेशमा सबैभन्दा बढी निर्यात तयारी पोशाकको हुन्थ्यो । जसले गर्दा नेपालमा १३ सय वटा तयारी पोशाकका उद्योग थिए ।

२०४६ सालमा काठमाडौंका सहरमा निजी सवारी ज्यादै कमको मात्र थियो । तर, तयारी पोशाक उद्योगमा भएको लगानी र यसको व्यापार बृद्धिसँगै काठमाडौंमा गाडी चढ्नको संख्या पनि त्यो बेला बढाएको थियो ।

कर्जा सूचना केन्द्रले बैंकको ऋण नतिरेका ऋणीलाई कालोसूचिमा राख्छ । केन्द्रमो वेवसाइटमा सजिलै हेर्न सकिने कालोसूचिको विववरणमा ४५ वटा उद्योग गार्मेन्टसँग सम्बन्धित छन् ।

कति उद्योगीले भएको अर्को जग्गा बिक्री गरेर बैंकको ऋण तिरेर कालोसूचिबाट निस्केका छन् ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डिका अर्याल वालमार्टलाई तयारी पोशाक बिक्री गर्ने व्यवसायी अहिले अमेरिकामा जागिर खाएर बस्नुपर्ने अवस्था आएको बताउँछन् ।

कोटा खारेज भएपनि अमेरिकाबाट आएको डिमान्ड पुरा गर्नको लागि माओवादीको द्वन्द्वले गर्दा माग अनुसारको डिमान्ड पुरा हुन सकेन । माओवादीले उद्योगमा जन्माएको ट्रेड युनियनले समस्या पारेको थियो ।

‘गार्मेन्टले धेरैलाई करोडपति पनि बनायो,’ गार्मेन्टको आफ्नो अनुभव सुनाउँदै अर्यालले भने, ‘यसले व्यक्तिलाई करोडपति व्यवसायी बनाएर पछि रोडमा झारिदिएको छ ।’

नेपालले कुनैबेला वार्षिक १० अर्बभन्दा बढीको तयारी पोशाकको निर्यात गर्ने गरेको इतिहास छ । १५ वर्षअघि १० अर्ब रुपैयाँभन्दा बढी रकमको निर्यात हुने तयारी पोशाक अहिले वर्षमा ५ अर्ब रुपैयाँ हुन पनि मुस्किल पर्नेगर्छ ।

सन् २००४ मा अमेरिकाले नेपाली तयारी पोशाकलाई दिदै आएको कोटा प्रणाली खारेज गरिदियो । अमेरिकाको निर्णयसँगै यसको प्रभाव नेपालको तयारी पोशाका उद्योगी देखि लिएर कामदारसम्म पर्यो ।

कोटा खारेज भएपनि अमेरिकाबाट आएको डिमान्ड पुरा गर्नको लागि माओवादीको द्वन्द्वले गर्दा माग अनुसारको डिमान्ड पुरा हुन सकेन । माओवादीले उद्योगमा जन्माएको ट्रेड युनियनले समस्या पारेको थियो ।

क्लिकमाण्डुसँगको अन्तरवार्ताको क्रममा महासंघका पूर्वअध्यक्ष ढकालले माओवादीको जनयुत्र र राजनीतिक लडाईले गार्मेन्ट व्यवसाय डुबेका बताएका थिए ।
‘माओवादी द्वन्द्वको कारण समयमा आउने र जाने सामानको डेलिभरी भएन,’ ढकालले भने, ‘समयमा डेलिभरी नभएपछि ग्राहकलाई १ करोड डलरभन्दा बढी छुट दिए ।’

उनले गार्मेन्ट व्यवसाय नेपालमा डुब्नुको पछाडी वित्तीय क्षेत्रलाई पनि दोष दिएका थिए । पानी परेको बेला छाता दिएर ओत दिनुपर्ने वित्तीय क्षेत्रले भएको छाता पनि खोस्ने काम गर्यो ।

नेपालमा तयारी पोशाकको उद्योग धरासायी भएपछि यसको प्रभाव धागो उद्योगमा पर्यो । नेपालमा संचालित साना धागो उद्योग बन्द भए सँगै सरकारी लगानीको बुटवल धागोपनि बन्द भयो ।

रिलायन्स स्पेनिङ मिलका संचालक तथा औद्योगिक घराना एमएस ग्रुपका प्रवन्ध निर्देशक शशिकान्त अग्रवाल कपडा उद्योग धरासायी भएपछि नेपालमा धागो उद्योग फस्टाउन नसकेको बताउँछन् ।

‘सरकारले गार्मेन्ट उद्योगलाई प्राथमिकता दिन सकेन,’ अग्रवालले भने, ‘अहिले १५ देखि २० अर्ब रुपैयाँको कपडा विदेशबाट आउने गर्छ ।’

यो वर्ष बैशाखसम्ममा जम्मा ३ अर्ब २२ अर्ब रुपैयाँको तयारी पोशाक निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले कमी हो ।


पुष्प दुलाल