काठमाडौंमा बढ्दै छ हाइकिङ क्रेज



काठमाडौं । निलो आकाश, चिसो बतास, चराको चिरबिर र गाउँले मुस्कान । पसिना चुहाउँदै उकाली–ओराली । काठमाडौं उपत्यकाको चारैतिर रमाइला डाँडाकाँडा छन् । जता चढे पनि हुन्छ ।

स्वस्थ हुन दैनिक कम्तीमा ४५ मिनेट हिँड्नुपर्छ भन्ने अवधारणाले गर्दा स्वदेशी र विदेशी पर्यटकका लागि काठमाडौं वरपरका डाँडाकाँडा हाइकिङको रोजाइ हुने गरेका छन् ।

आजभोलि महिनाको एकपटक हाइकिङ गर्ने परम्पराको विकास हुँदै गएको छ । छोटो समयका लागि काठमाडौं आएका तर लामो पदयात्रामा जान नसक्ने पर्यटकलाई ट्राभल एन्ड टुर्स सञ्चालकहरुले हाइकिङ प्याकेजसमेत बनाउन थालेका छन् ।

काठमाडौंको चाप र उकुसमुकुसबाट मानिसहरु अहिले विदेशीभन्दा पनि स्वदेशी पर्यटकको आकर्षण झनै बढ्दै गएको छ । काठमाडौं वरपरका डाँडाकाँडामा अहिले हाइकिङ रुटको विकास भइरहेको छ ।

पुरानो हुँदैन, हाइकिङ रुट

प्रत्येक पटक जाँदा त्यहाँ नवीनता हुन्छ । एउटा ऋतुमा जाँदा जहाँ काफल पाकेको हुन्छ, अर्कोमा त्यही ऐंसेलु र घँगेरु । कुनै महिना पतझड हुन्छ त कुनैमा हरियाली ।

घामको पारिलोपना उस्तै–उस्तै हुन्छ तर निरन्तर चल्ने हावाको झोंक्काको कठोरता फरक–फरक हुन्छ । सालभर एकैनासको तनावमा बिताएर खुला आकाशसम्म हेर्न नभ्याउने उपत्यकावासीका लागि प्रकृतिले दिने यो अनौठो पाठ हो ।

एक दिने हाइकिङमा शिवपुरी, फूलचोकी, चम्पादेवी, चन्द्रागिरी तथा नगरकोट उपयुक्त छन् । लामो रुटमा भक्तपुरदेखि सुन्दरीजल हुँदै नागी गुम्बा र बूढानीलकण्ठ सम्मको झण्डै ४० किलोमिटर लामो रुट पनि छ ।

त्यसपछिको लामो रुट कीर्तिपुरबाट चम्पादेवी, भष्मासुर डाँडा, सिम्पानीडाँडा, चखेल देउराली हुँदै चन्द्रागिरी पुगेर चित्लाङ भञ्ज्याङ –चित्लाङ गाउँ हुँदै गोदाम झरेर थानकोटमा आएर टुंगिने पनि छ । थानकोटदेखि चन्द्रागिरीको चुचुरोसम्म केबुलकार पनि सञ्चालनमा आइसकेको छ । यो उपत्यकानजिकको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दैछ ।

काठमाडौं वरपरका डाँडाकाँडामा हिँड्नुको आनन्द नै बेग्लै छ । महिनाको एक पटकमात्र भए पनि प्रकृतिको नजिक पुग्ने हो भने पनि मोटोपन, रक्तचाप र मधुमेहजस्ता दीर्घ रोगविरुद्ध लड्न बल पुग्छ ।

केही घण्टामात्र हिँड्नुपर्ने भञ्ज्याङदेखि लिएर दिनभर वा दुई दिनसम्मको हिँडाइ, चित्लाङ र चिसापानी लगायत ठाउँमा नाइट स्टे अनि नगरकोटजस्ता ठाउँमा हिँडेर जाने र गाडीमा फर्किने सुविधा समेत उपलब्ध छ । उकालो हिँड्न नसक्नेहरुलाई भक्तपुरदेखि सुन्दरीजल अनि त्यहाँदेखि बूढानीलकण्ठ सम्मको तेर्सो रुट उपयुक्त हुन्छ ।

काठमाडौं–बज्रबाराही–गोदावरी–काठमाडौं

तीनवटा पिक लाङटाङ, गणेश हिमाल र मनास्लु यो रुटमा देख्न सकिन्छ । मौसम अनुसारका फूल तथा चराचुरुंगीको अध्ययन तथा अवलोकन पनि गर्न सकिन्छ ।

ललितपुरमा रहेको चापाँगाउँसम्म सवारीसाधनमा गएपछि पैदल यात्रा सुरु हुन्छ । तीन घन्टाको हिँडडुलपछि गन्तव्यमा पुग्न सकिन्छ । पुरानो ट्रेलमार्फत पैदल यात्रा गरिने भएकाले आन्तरिक र बाह्य दुवै पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

काठमाडौं–चम्पादेवी–फर्पिङ

२३ सय मिटर उचाइमा रहेको चम्पादेवी मन्दिर धार्मिक र प्राकृतिक दुवै हिसाबले आकर्षक गन्तव्य हो । काठमाडौंबाट चम्पादेवी मन्दिर गएर फर्पिङमा आएर यात्रा टुंगिन्छ । बौद्ध स्तुपा, हिमालय शृंखलाको अवलोकन र तथा हरियाली जंगल यो रुटका विशेषता हुन् ।

काठमाडौं–फूलचोकी–गोदावरी

फूलचोकी समुद्र सतहदेखि २७ सय ५० मिटर उचाइमा छ । तीन घन्टाको उकालो चढेर जान सकिने यो स्थानबाट सुन्दर हिमालय शृंखलाको अवलोकनका साथै पहाडी दृष्यको समेत अवलोकन गर्न सकिन्छ । फूलचोकीबाट अन्नपूर्ण तथा गौरीशंकर हिमाल देख्न सकिन्छ ।

काठमाडौं–ककनी–गुर्जेभञ्ज्याङ

ककनी पिकनिकका लागि चर्चित स्थान हो । पछिल्लो समय हाइकिङको लागि ककनी चर्चित बनेको छ । २ हजार ७३ मिटर उचाइमा रहेको ककनी गाडीमा पनि जान सकिन्छ । ककनीबाट ३ घन्टाको पदयात्रापछि गुर्जेभञ्ज्याङ पुग्न सकिन्छ ।

काठमाडौं–नमोबुद्ध

बौद्ध धर्मालम्बीका लागि लुम्बिनी र स्वयम्भूपछिको अर्को महत्वपूर्ण क्षेत्र हो नमोबुद्ध । १८ सय मिटर उचाइमा रहेको नमोबुद्ध क्षेत्रमा हजारौं बुद्धिस्ट पुग्छन् । धुलिखेल, बनेपा र पनौतीबाट नमोबुद्ध पुग्न सकिन्छ । यहाँबाट पनि सुन्दर हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।

शिवपुरी–बुढानीलकण्ठ

शिवपुरी २५ सय ६३ मिटर उचाइमा छ । यो काठमाडौं नजिकको दोस्रो उच्च पहाडी क्षेत्र हो । शिवपुरी क्षेत्र बागमतीको उद्गमस्थल पनि हो । शिवपुरी संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ जंगल बढी छ । पाँच घन्टामा यो रुट पार गर्न सकिन्छ । यो क्षेत्रमा गुम्बा, ५ सयभन्दा बढी प्रजातिका चराचुरुंगी आदि छन् ।

हाइकिङ जादाँ के लैजाने ?

डे प्याक (कम्पास, नक्सा, पानीको बोत्तल, हेडल्याम्प, खानेकुरा, सनस्क्रिम, ग्लास) फुटवेयर (बुट, सुज, हाइकिङ मोजा) क्लोथिङ (मौसमअनुसार ज्याकेट, रेनकोट, लामो टिसर्ट, पञ्जा आदि) एक्सेसरिज (पैसा, सानो ब्याग ट्वाइलेट पेपर, घडी डायरी, पेन, क्यामेरा)

ध्यान दिनुस्

एक्लै हाइकिङमा नजानुस् । समय ‘क्यालकुलेट’ गरेर हिँड्नुस् । संकेत दिएको स्थानबाट मात्र यात्रा गर्नुस् । घना जंगलतिर नजानुस् । फोन सम्पर्कमा रहनुस् ।


क्लिकमान्डु