बजेटमा उठेका प्रश्नको आइतबारदेखि मन्त्रीले जवाफ दिने



काठमाडौं । व्यवस्थापिका– संसद्को बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालय र संबैधानिक निकायका शीर्षकमाथि सांसद्हरूले बोल्ने क्रम शुक्रबार सकिएको छ ।

संसदको यही असार २५ र २६ गतेका दिन बस्ने बैठकमा मन्त्रीहरूको जवाफका लागि समय तोकिएको छ ।

शुक्रबारको बैठकमा ९ मन्त्रालय र ६ संबैधानिक निकायका शीर्षकमाथि छलफल भएको थियो । विज्ञान तथा प्रविधि, शान्ति तथा पुनःनिर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहकारी तथा गरिबी निवारण, सिंँचाइ, सूचना तथा सञ्चार, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो ।

छलफलमा सांसदहरूले नेपालको प्राकृतिक स्रोत तथा साधनको उपयोग हुनेगरी बजेट आउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले बजेट विनियोजन र खर्च प्रणाली परम्परागत भएकामा चिन्ता व्यक्त गरे ।

नेपाली काँग्रेसका भीमसेनदास प्रधान, शारदा पौडेल, नेकपा (एमाले)का भीम आचार्य, पशुपति चौलागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका कान्ता भट्टराई, नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे, अन्य सांसद विमल केडिया, डा वंशीधर मिश्र, गीता वाग्ले, वैजनाथ चौधरी, भुटनदेवी खवास, कमला दोङ, लालबहादुर गुरुङ, सीता गिरी (ओली), शिवचन्द्र चौधरी, मुफ्ताव अहमत, नवराज शर्मा, कृष्णप्रसाद पौडेल, श्यामप्रसाद ढकाल, तेजूलाल चौधरीलगायतले छलफलमा भाग दिएका थिए ।

संसद्को अर्काे बैठक यही असार २५ गते आइतबार बिहान ११ बजे बस्नेछ । रासस


पुष्प दुलाल