नेपाली सेनाले कालीगण्डकी करिडोरको ट्रयाक खोल्यो



बेनी । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ । नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बत्को कोरला नाका उपल्लो मुस्ताङसम्मको ३ सय ४५ किलोमिटर दुरीको ट्रयाक खुलेको हो ।

यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । निर्माण कार्यदलका सहायक रथी उद्धव विष्टले सडकको सुधार र विस्तार गर्नुपर्ने भए पनि अब गाडी गुड्नसक्ने बनाइएको जानकारी दिए ।

बागलुङ खण्डमा मात्रै करिब ५६ करोड रुपैयाँ खर्च भएको उनले बताए । करिडोरको ट्रयाक खुलेपछि अब सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोराला पुग्न सकिने करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मिराज भट्टराईले बताए ।

२ देशलाई जोड्ने छोटो सडक निर्माण भएको छ, जोखिम मोलेर ठूला भिर–पहरालाई फोर्दै ट्रयाक खोल्यौं, भट्टराईले भने ।

असार मसान्तसम्म ट्याक खोल्ने प्रतिबद्धता जनाएको सेनाले एक साताअघि बिहीबार नै ट्रयाक खोलेको जनाएको छ । नेपाली सेनाको निर्माण कार्यदलकाअनुसार बागलुङ जिल्लाका ४ वटा करिडोर क्षेत्रका खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने छ ।

करिडोरको ट्रयाक खुलेसँगै अब भारतीय पर्यटक कालीगण्डकी नदीको किनारैकिनार भएर हिन्दू र बौद्धधर्मावलम्बीको प्रशिद्ध तीर्थस्थल मुक्तिनाथ जान र चीनका बौद्धधर्मावलम्बी पनि सोही मार्ग हुँदै लुम्बिनी पुग्नसक्नेछन् । यो करिडोरले नेपाल, भारत र चीनको त्रिदेशीय व्यापार अभिवृद्धि गर्न सघाउ पु¥याउनुका साथै भारत र चीनबीच ‘कनेक्टिभिटी’को काम गर्ने स्थानीय सरकोकारवालाले बताएका छन् ।

करिडोरमा मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, सेतीवेणी, रिडी, रानीघाट, राम्दीलगायत प्रसिद्ध मठ–मन्दिर रहेकाले धार्मिकरुपमा पनि महत्वपूर्ण रहेको छ ।

करिडोरको नवलपरासीदेखि बागलुङको मालढुङ्गासम्म २८ मोटरेवल पुल बनाउनुपर्ने कालीगण्डकी करिडोरको आयोजना कार्यालयले जनाएको छ । ट्रयाक खोलेपछि आगामी वर्षबाट कालोपत्रे सुरु गर्ने तयारी छ । रासस


पुष्प दुलाल