जग्गाबन्धकी लिएर सामूहिक बदाम खेतीमा महिला



पोखरा। वर्षेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् ।

कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–३ घाहाचोकस्थित भलाबोट फाँटमा अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थामार्फत उनीहरूले एक दशकदेखि सामूहिक बदाम खेती गर्दै आएका हुन् ।

घाचोकका अधिकांश घरमा बदाम खेती गर्ने प्रचलन छ ।  त्यही बदाम बिक्री गरी चाडबाड मनाउने यहाँको प्राचीन प्रचलन पनि हो । तीन वर्षको लागि एक लाख ५० हजार रुपैयाँमा पाँच रोपनी जग्गा बन्धकी लिएर दुई मुरी स्थानीय जातको बदामको बीउ लगाइएको सहकारी संस्थाका अध्यक्ष अनन्ता पोख्रेलले बताइन।

उनले यस वर्ष लगभग २५ मुरी बदाम उत्पादन हुने बताउँदै बजारमा बिक्री गर्दा रु दुई लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिइएको जानकारी दिइन। उनका अनुसार परम्परागत रुपमा घाहाचोकको बदामले कमाएको ख्याति र स्थानीय बीउको संरक्षण गर्दै सामूहिक खेतीको माध्यमबाट महिलाको आयआर्जनमा अभिवृद्धि गर्ने लक्ष्यका साथ २०६४ सालदेखि निरन्तर बदाम खेती गर्दै आइएको हो ।

‘उत्पादित बदाम बिक्री हुँदैन कि भन्नु पर्दैन, घाचोकको बदामका पारखी र पोखराका व्यापारी खरिद गर्न बारीमै आउँछन्,’ उनले भनिन, ‘यस वर्ष बदाम प्रतिपाथी ४५० रुपैयाँ मूल्य निर्धारण गरिने भएको छ ।’

सम्झौतानुसार निश्चित समयमा मूल धन फिर्ता गर्ने र जग्गा उपयोग गरेबापत ब्याज तिर्न नपर्ने प्रथालाई बन्धकी भनिन्छ । अध्यक्ष पोख्रेलले प्रत्येक वर्ष छुट्टाछुट्टै जग्गामा गरिने भएकाले बदामलाई घुम्ती खेतीका रुपमा लिइएको बताइन।

संस्थाले बदामको अलावा मौसमी तथा बेमौसमी तरकारी खेती, आलु, धान, तोरी, सिलामलगायतको सामूहिक खेती गर्दै आएको छ । सामूहिक कृषिका कारण सहकारी संस्था गठन गर्दा मासिक २० रुपैयाँ सङ्कलन गर्न समेत हिच्किचाउने महिला अहिले खुशी भएर मासिक तीन सय रुपैयाँ जम्मा गर्न थालेका छन् ।

त्यही सहकारीबाट ऋण लिएर शेयर सदस्य महिलाले गाई, भैँसी एवम् कुखुरापालन, तरकारीखेती, आधुनिक कृषि औजार खरिद गरी आयआर्जन गर्दै आएको सहकारी संस्थाका सचिव गायत्री पोख्रेलले जानकारी दिइन ।

उपयुक्त हावापानी र बलौटे माटामा गाईभैँसीको मल मात्र  प्रयोग गरेर उत्पादित प्राङ्गारिक बदामबाट आगामी दिनमा गाउँमै पिनट बटर बनाएर पोखराका होटलमा बिक्री गरी आन्तरिक एवम् बाह्य पर्यटकलाई स्वाद चखाउने लक्ष्य राखिएको छ ।

यसबाट शेयर सदस्यका लागि स्वरोजगार सिर्जना गर्दै थप आम्दानीको स्रोत बढाइने सहकारीको लक्ष्य रहेको सचिव पोख्रेलले बताइन।

सामूहिक बदाम खेतीले गाउँका सबै दिदीबहिनीलाई सङ्गठित गरेको बताउने सहकारीका शेयर सदस्य कलाज्यू ठकुरीले बारी तयार गरेदेखि उत्पादन भित्रयाउँदासम्म बारीमा दिदीबहिनी जम्मा हुँदा पर्व आए जस्तै हुने गरेको बताइन।

महिलाको प्रयासलाई पुरुषले पनि राम्रो सहयोग गरेका कारण महिला अधिकार सुरक्षित भएको अनुभूति गरेको ठकुरीको भनाइ छ ।

कूल ४९ लाख ६६ हजार रुपैयाँको कारोबार रहेको सहकारीले विभिन्न पेशा–व्यवसाय सञ्चालनका लागि २८ लाख रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा हाल १३ लाख ५० हजार रुपैयाँ बचत रहेको संस्थाका कोषाध्यक्ष पार्वती पोख्रेलले जानकारी दिइन । उनका अनुसार बालबचत खातामा छ लाख रुपैयाँ भन्दा बढी सङ्कलन भएको छ ।

सहकारीलाई जिल्ला कृषि विकास कार्यालय कास्कीबाट सिंचाइका लागि एक लाख रुपैयाँ अनुदान र गाविसबाट दश हजार रुपैयाँ सहयोग प्राप्त भएको उनले बताइन ।

संस्थाका गतिविधि सञ्चालनका साथै बदामको बीउ भण्डारणका लागि संस्थाले ७० लाख रुपैयाँको लागतमा सुविधासम्पन्न तीनतले पक्की भवन निर्माण शुरु गरेको बताउँदै उनले सो भवन निर्माणका लागि कृषि इन्जिनियरिङ कार्यालय हरिहर भवन ललितपुरले तीन वर्षमा लगभग ६० लाख रुपैयाँ अनुदान र बाँकी संस्थाले व्यहोर्ने जानकारी दिइन ।


क्लिकमान्डु