माछापालनको क्षेत्र विस्तार कार्यक्रम प्रभावित



चितवन । जिल्लामा माछापालनमा किसानलाई आकर्षित गर्न आएको अनुदान कार्यक्रम यस वर्ष प्रभावकारी नहुँदा करोडौँ रकम त्यसै फिर्ता भएको छ ।

जिल्लामा विभिन्न शीर्षकमा माछापालन विस्तारका लागि तीन करोड ५५ लाख रुपैयाँ भन्दा बढीका अनुदानका कार्यक्रम आएको भएपनि एक करोड पाँच लाख रुपैयाँको कार्यक्रम सञ्चालन भएको थियो । बाँकी दुई करोड ५० लाख रुपैयाँ बढी रकमको काम हुनै सकेन ।

जिल्ला कृषि विकास कार्यालयका मत्स्यविकास अधिकृत परशुराम यादव यस वर्ष अनुदानका कार्यक्रममा न्यून प्रगति भएको बताउँछन ।

‘जोसँग जग्गा छ, प्लटिङ गर्दैमा ठिक्क छ, चाहना भएकासँग जग्गा छैन, त्यसैले क्षेत्र विस्तार हुन सकेको छैन,’ उनले भने। यस वर्ष किसानको माग नै कम आएको उनले बताए ।

माछापालन विस्तार तथा नर्सरी व्यवस्थापनका लागि जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा अनुदानका कार्यक्रम आएको भएपनि ३३ हेक्टरमा मात्रै काम सम्पन्न भएको यादव बताउँछन । जिल्लामा यस वर्ष तीनवटा शीर्षकमा माछापालनका लागि अनुदान आएको थियो ।

विशेष मत्स्य उत्पादन कार्यक्रमअन्तर्गत २० हेक्टर क्षेत्रमा माछापालन विस्तारको कार्यक्रम भएपनि १२ हेक्टरमा मात्रै नयाँ पोखरी निर्माण भएको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माडी र पश्चिम क्षेत्रमा ९५ हेक्टरमा क्षेत्रफल विस्तारको कार्यक्रम रहेको भएपनि २२ हेक्टरमा मात्रै विस्तार गर्न सफल भएको यादवले बताए।

दुईवटा कार्यक्रममा नयाँ पोखरी निर्माण गर्ने किसानलाई प्रतिहेक्टर रु तीन लाखका दरले अनुदान उपलब्ध गराउने भनिएको थियो । माछाको नर्सरी निर्माण र व्यवस्थापनका लागि प्रति हेक्टर रु पाँच लाख अनुदान दिने गरी पाँच हेक्टर क्षेत्रफलमा कार्यक्रम आएकामा जम्मा तीन हेक्टरमा मात्रै काम सफल भएको छ ।

कार्यालयका प्रमुख सुधिर श्रेष्ठले यस वर्ष माछामा प्रगति हुन नसकेको स्वीकार गनुभयो । अनुदानले पनि किसानलाई आकर्षित गर्न नसकेको उनको भनाइ छ । उनले जमिनको स्वरुप नै बिग्रने भएकाले किसान नआएका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको कार्यविधि ढिला आउँदा समस्या भएको बताए ।

कार्यालयका अनुसार जिल्लामा गत वर्ष एक हजार ३०० किसानले ५३९ हेक्टरमा माछापालन गरेको तथ्याङ्क छ । जिल्लामा वार्षिक दुई हजार २६३ मेट्रिक टन माछा उत्पादन हुन्छ । हाल रहु, नैनी, भाकुर, सिल्भर बिगहेड, ग्रास, कमनकार्प, पङ्गासियस प्रजातिका माछा उत्पादन हुँदै आएको छ ।

 

 


क्लिकमान्डु