होटलमा निजी क्षेत्रको लगानी ३ खर्ब



काठमाडौं । नेपालमा पर्यटक स्तरका होटलहरुमा निजी क्षेत्रको लगानी ३ खर्ब रुपैयाँ पुग्न लागेको छ । होटल संघ नेपाल (हान) ले गरेको घोषणा अनुसार लगानी करिब ३ खर्ब पुगेको हो ।

होटलमा हाल २ खर्ब ५० अर्ब रुपैयाँ लगानी भइसकेको छ । भने अबको केही वर्ष भित्र आउने नयाँ होटलहरुमा ३३ अर्ब रुपैयाँ लगानी भइरहेकोले होटलहरुमा निजी क्षेत्रको लगानी ३ सय अर्ब अर्थात ३ खर्ब रुपैयाँ लगानी पुग्न लागेको तथ्यांक हानले सार्वजनिक गरेको हो ।

देशभरमा अहिले ५ तारे होटल १० वटा छन् । यस्तै ४ तारे होटल दुईवटा तथा भने ३ तारे होटल १२ वटा छन् ।

२ तारे होटलहरु २२, एकतारे १८ र तारा रहित १ सय ६५ वटा होटल सञ्चालनमा छन् । पर्यटकीय स्तरका ६ सय २५ वटा होटल रहेका छन् भने २ सय २६ वटा होमस्टे रहेको हानले जनाएको छ ।

आगामी दुई वर्षभित्र देशमा पाँचतारे होटलको संख्या दोब्बर हुदैं छ । हाल १० वटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् भने १० वटा थपिन लागेका छन् । होटल क्षेत्रमा ३३ अर्ब रुपैयाँ बराबरको लगानी भइरहेको छ । ‘निर्माणाधीन अवस्थामा रहेका १० वटा होटल सन् २०१९ भित्रमा सञ्चालनमा आउँदै छन,’ हानका पूर्वअध्यक्ष योगेन्द्र शाक्यले भने ।

४ हजार रुम थपिने पक्का भएकोले पनि लगानीनै जोखिमा पर्ने हो कि भन्ने चिन्ता सुरु भएको शाक्यले बताए ।

‘अहिले नै होटलहरुले १६ लाख पर्यटक धान्न सक्ने अवस्थामा छन् नयाँ थपिएपछि २० लाख पर्यटक धान्न सक्ने अवस्थामा पुग्नेछन,’ पूर्व अध्यक्ष शाक्यले भने । नयाँ होटलहरुमा बैंकहरुले ४५ अर्ब रुपैयाँ लगानी गरिहरको उल्लेख गर्दै शाक्यले होटलहरु चल्न नसक्ने र जनताको पैसा डुब्ने त हैन भन्ने चिन्ता सुरु भएको शाक्यले बताए ।

होटलमा यसरी लगानी बढ्दै गए पनि विदेशी पर्यटक आगमन भने खासै उत्साहजनकरुपमा बढेको छैन । गत वर्ष मुस्किलले साँढे ७ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले सन् २०२० सम्ममा वार्षिय २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएता पनि पुरा नहुने पक्का भइसकेको छ ।

निजी क्षेत्रले पर्यटन उद्योगमा प्रशस्त लगानी गरेको भएपनि सरकारले पूर्वाधारमा लगानी नगरेकोले समस्या सिर्जना भएको व्यवसायीको आरोप छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बढीमा ६ लाख पर्यटक भन्दा धान्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै शाक्यले मुख्यद्वारनै बन्द भएपनि कहाँबाट पर्यटक ल्याउने चिन्ता भएको बताए । ‘सरकारले विमानस्थल र हवाई सेवा मार्फत सिधा पर्यटक गन्तव्यमा उडान नगरे समस्या हुने देखिन्छ,’ शाक्यले भने ।


क्लिकमान्डु