गाडी चढ्न ३५ प्रतिशत डाउनपेमेन्ट भए पुग्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी खरिद गर्नको लागि सजिलो बनाउने भएको छ ।

चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा मार्फत कडाइ गरिएको ‘अटो लोन’ अब सहज बनाउन लागिएको हो ।

अहिले ५० प्रतिशत रहेको कर्जा सीमालाई ६५ प्रतिशत पुर्याउन लागिएको हो । अब ३५ प्रतिशत डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सकिने छ । जस अनुसार १ करोड मुल्य पर्ने गाडी किन्नको लागि ग्राहकले ३५ लाख तिरेपछि बाँकी रकम बैंकबाट ऋण पाइन्छ । अहिलेसम्म १ करोड गाडीको लागि ५० लाख तिरेपछि ५० लाख बैंकबाट ऋण पाइने व्यवस्था थियो ।

मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा मार्फत गाडी कर्जामा कडाइ गरेसँगै सवारी साधान बिक्री ६० प्रतिशतसम्म गिरावट आएको थियो । सवारीसाधन बिक्रेताले गाडीको कर्जा सीमालाई ७० प्रतिशत पुर्याउन माग राख्दै आएका थिए ।

राष्ट्र बैंकले सवारी कर्जामा गरेको कडाईका कारण बैंकहरुको ऋण प्रवाह कम भएको छ । राष्ट्रबैंकले पहिलो पटक मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) क्याप तोकेसंगै मासिक अर्वौमा हुने सवारीकर्जा करोडमा झरेको छ ।

गत माघमा मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकले निजी सवारीको अटोमा जाने कर्जामा मूल्यको ५० प्रतिशतसम्म मात्र बैंकहरुले लगानी गर्न पाउने व्यवस्था गरेको थियो । यदि ५० लाख रुपैयाँको गाडी किन्नु पर्दा बैंकहरुले २५ लाख रुपैयाँमात्र ऋण सुविधा दिन पाउने व्यवस्था गरिएको थियो । जसका कारण चैत महिनामा जम्मा ७० करोड रुपैयाँ मात्र ऋण प्रवाह भएको छ । राष्ट्र बैंकको १० महिनाको तथ्यांक अनुसार हालसम्म सवारीकर्जामा बैंकहरुले १ खर्व ५० अर्व ४० करोड रुपैयाँ लगानी गरेका छन ।

गत मंसिरसम्म १ खर्व ३६ अर्व ३० करोड सवारी साधनमा बैंहरुले ऋण प्रवाह गरेका थिए । जस अनुसार ६ महिनामा १४ अर्व १० करोड रुपैयाँ मात्र सवारी तर्फ कर्जा प्रवाह भएको देखिन्छ । पुसमा मात्रै बैंकहरुले ६ अर्व ३० करोड रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेका थिए । पुससम्ममा १ खर्व ४२ अर्व ६० करोड रुपैयाँ सवारी कर्जा पुगेको थियो ।

माघमा पनि पुसको भन्दा ४ अर्व ३० करोड रुपैयाँ बढी सवारीकर्जा प्रवाह भएको देखिन्छ । माघसम्ममा मा १ खर्व ४६ अर्व ३० करोड रुपैयाँ बराबर सवारी तर्फ ऋणप्रवाह भएको छ । माघसम्म व्यापक बढीरहेको कर्जा फागुन देखिनै घट्न थालेको राष्ट्रबैंकको तथ्यांकले देखाएको छ ।

फागुनमा जम्मा २ अर्व १० करोड रुपैयाँ मात्र सवारीकर्जा गएको छ । फागुन सम्ममा जम्मा १ खर्व ४८ अर्व ४० करोड रुपैयाँ बराबर ऋणप्रवाह भएको छ । त्यस्तैगरी चैतमा घटेर ७० करोड रुपैयाँ मात्र बैंकहरुले सवारी तर्फ ऋण प्रवाह गरेका छन । चैतसम्ममा अटो तर्फ बैंकहरुको लगानी १ खर्व ४९ अर्व रहेको छ । घटिरहेको कर्जा प्रवाह बैशाखमा भने पुन बढेको देखिन्छ । बैशाखमा १ अर्व ४० करोड रुपैयाँ सवारी कर्जा प्रवाह भएको छ । बैशाखसम्ममा बैंकहरुले सवारी तर्फ १ खर्व ५० अर्व ४० रुपैयाँ लगानी भएको छ ।


क्लिकमान्डु