साउन १ गतेदेखि केवल टिभी तथा डिटिएच सेवा बन्द गर्ने चेतावनी



काठमाडौं । सरकारले लागू गराउने प्रकृयामा रहेको क्लिन फिड अर्थात विज्ञापनरहित टेलिभिजन च्यानल प्रशारणको संभावना नभएको यस क्षेत्रमा आबद्ध व्यवसायी संस्थाहरुले जनाएका छन् ।

केबल टेलिभिजन प्रसारकहरुको संस्था नेपाल केवल टेलिभिजन महासंघ तथा नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ तथा डिटिएचबाट टेलिभिजन च्यानल सेवा संचालन गरिरहेको डिस होमले संयुक्तरुपमा क्लिन फिडको विरोधमा प्रधानमन्त्री तथा सुचना तथा संचार मन्त्रालयका सचिव समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरुले विज्ञापन रहित नीति, २०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को प्रतिकुल भएको भन्दै सो नीति रद्ध गर्न माग गरेका छन् ।

‘विदेशी प्रशारक संस्थाले नेपाल जस्तो सानो भूगोलमा रहेको देशको लागि अलग्गै फिड तयार गर्ने भन्ने पनि संभावना देखिँदैन । यसै सन्र्दभमा भारतीय प्रशारक फाउण्डेशनले नेपालको लागि क्लिन फिड उपलब्ध गराउन नसकिने जानकारी गराएको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।

तीन संस्थाहरुले नेपाली उपभोक्ताले क्लिन फिडबाट प्रशारित च्यानलको शुल्क भुक्तान गर्न सक्ने नदेखिएको भन्दै नेपालमा प्रशारण भईरहेका ८० प्रतिशत विदेशी च्यानलहरुको नेपालका लागि विज्ञापन रहित फिड नभएको दाबी गरेका छन् ।

फिड नभएको कारण नेपाली डिटिएच कम्पनी तथा केवल कम्पनीहरु प्रत्यक्षरुपमा बन्द हुने र सो क्षेत्रमा लगानी भएको अर्बौ रुपैयाँ खेर जाने उनीहरुले जनाएका छन् ।

सरकारले यहि असार मसान्त भित्र विज्ञापन रहित नीति, २०७३ रद्ध नगरेमा आगामी साउन १ गतेदेखि नेपाली डिटिएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका सशुल्क, निशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायस सम्पूर्ण टेलिभिजन बन्द गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।


क्लिकमान्डु