मौद्रिक नीतिले सेयर लगानीकर्तालाई बनायो निराश




काठमाडौं । साताको कारोबारको दोस्रो दिन नेप्से ८.९३ अंकले घटेर १५७५.२२ अंकमा आइपुगेको छ । १ सय ५० कम्पनीको २८ लाख ६५ हजार ९२ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोड ३५ लाख रुपैंयाँको कारोबार भएको छ ।

लगानीकर्ताले आगामी बर्षको मौद्रिक नीतिले ब्याजदर घटाउने वित्तीय उपकरणहरु ल्याउने र सेयर बजारलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका थिए । तर, मौद्रिक नीतिमा ब्याजदर घटाउने ठोस कार्यक्रमहरु नआउँदा लगानीकर्ताहरु आशावादी हुन सकेनन् ।

मौद्रिक नीतिपछि बिभिन्न सञ्चार माध्यमहरुमा प्रतिक्रिया दिंदै बैंकर्सहरुले आगामी आर्थिक बर्षको पहिलो त्रैमाससम्म्म ब्याजदर घट्ने कुनै संभावना नरहेको बताएका छन् । ब्याजदर र सेयर बजारबीच सामान्यतः नकारात्मक सम्बन्ध हुन्छ ।

सोमबार उत्पादन बाहेक अन्य सबै उपसमूहहरु घटेका छन् । बैंकिङ ८.७५, होटल १५.०८, बिकास बैंक ११.५४, जलबिद्युत १६.५३, बित्त ३.०७, बीमा ५९.६३ र अन्य ४.०४ अंकले घटेका छन् । उत्पादन भने ५५.७५ अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढि सोल्टी होटलको ७ करोड ३३ लाख रुपैंयाँको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफको ३ करोड ८६ लाख र तेस्रोमा सेञ्चुरी बैंकको ३ करोड ५० लाख रुपैंयाँको कारोबार भएको छ । सेञ्चुरीले ४० प्रतिशत हकप्रदको लागि आज बुकक्लोज गरेको छ ।

सबैभन्दा बढि कमाउनेमा भने बल्र्ड मर्चेन्ट फाइनान्स र कुवेर मर्चेन्ट फाइनान्सका लगानीकर्ता रहेका छन् । उनीहरुले क्रमशः ८.३३ र ५.०५ प्रतिशतले कमाएका छन् ।

यसैगरी सबैभन्दा बढि गुमाउनेमा पनि वित्त कम्पनीकै लगानीकर्ता रहेका छन् । प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ५.६६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल