चर्चित ब्राण्ड भोल्भोले पेट्रोलियम कार उत्पादन बन्द गर्दै, ५ मोडलका बिद्युतीय कार ल्याउने



काठमाडौं । स्वीडेनको सवारी साधन निर्माता कम्पनी भोल्भोले अब विद्युतीय सवारीसाधन मात्र उत्पादन गर्ने भएको छ । गत साता कम्पनीले सन् २०१९ देखि इन्टरनल कम्बसन इन्जिन (पेट्रोल–डिजेल) पूर्णरुपमा बन्द गरेर विद्युतीय र हाइब्रिड कार मात्र उत्पादन गर्ने घोषणा गरेको हो ।

घोषणासँगै सम्पूर्णरुपमा पेट्रोल–डिजेल कारको उत्पादन गरी विद्युतीय/हाइब्रिड मात्र उत्पादन गर्ने ठूला अटोमोबाइल कम्पनीमध्येमा भोल्भो पहिलो बनेको छ । भोल्भो कार्सका अध्यक्ष एवम् मुख्य कार्यकारी निर्देशकले विश्वमै विद्युतीय गाडीको माग तीव्र गतिमा बढिरहेकाले यो निर्णय गरेको बताएका छन् ।

भोल्भोले सन् २०१९ देखि २०२१ सम्म ५ मोडलका विद्युतीय कार बजारमा ल्याउने बताएको छ । तीमध्ये तीन भोल्भो र दुई पोलस्टार मोडलका हुनेछन् ।

विश्वमा विद्युतीय कारको लोकप्रियता बढिरहेको छ । धेरै देशले यसको प्रवद्र्धन गर्दै आगामी केही वर्षमा पेट्रोल–डिजेल इन्जिनलाई पूर्णरुपमै प्रतिबन्ध गर्ने घोषणा पनि गरिसकेका छन् ।

जर्मन सरकारले सन् २०३० देखि पेट्रोल तथा डिजेलबाट चल्ने इन्जिन आयात, निर्यात तथा बिक्रीमै प्रतिबन्ध लगाएको छ भने नेदरल्याण्ड्सले सन् २०२५ देखि प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेको छ ।

त्यस्तै, नर्वेले २०२५ सम्ममा देशमा सबै कार हरित उर्जाबाट चल्ने कार मात्र चलाउने निर्णय गरेको छ । विश्वका अन्य केही देशले पनि पेट्रोल–डिजेल इन्जिन प्रतिबन्ध वा विस्थापन गर्नेबारे योजना बनाइरहेका छन् ।

यसै साता अमेरिकी कम्पनी टेस्लाले आफ्नो सबैभन्दा सस्तो विद्युतीय कार ‘मोडल थ्री’ को उत्पादन सुरु हुने बताएको छ । जेनरल मोटर्सले पनि विद्युतीय ‘शेभी बोल्ट’ बिक्री गर्दै आएको छ । भोल्भो र टेस्लाको यो कदमले विश्वका अन्य प्रमुख अटोमोबाइल कम्पनीलाई चुनौति भएको छ ।


क्लिकमान्डु