सुनको भाउ घटेर प्रतितोला ५२ हजारसम्म आउन सक्छ



पछिल्लो समयमा सुनको मूल्य घटिरहेको छ । यसको कारण थाहा पाउन हामीले अन्तराष्ट्रिय बजारको अबस्था हेर्नुपर्छ । सामान्यतः अमेरिकी डलर महंगो भएको बेलामा सुनको भाउ घट्ने गर्छ ।

तर, यसपाली डलर खासै मजबुद भएको छैन । जापानी येनको तुलामा केही बलियो भएको छ । अन्य देशका मुद्रासँग डलर खासै महंगो भएको छैन । फेरि मुद्राको मूल्यांकन गर्ने हो भने जापानी येनले अहिले अन्तराष्ट्रिय बजारमा खासै असर पार्दैन ।

अन्तराष्ट्रिय बजारमा अहिले चीनको मुद्रा युआनले ठूलो भूमिका खेल्छ । चीनले भर्खरै आफ्नो अर्थतन्त्र बचाउन ठूलो परिमाणमा डलर बिक्री गरेको छ । यसकारण अहिले डलर मजबुद हुनुनपर्ने हो । यसअघिका घटनाहरुको विश्लेषण गर्ने हो भने डलर कमजोर बन्नु पर्ने हो । अरु बेलाको अबस्था जस्तै हुने हो भने अहिले डलरको भाउ घटेर सुनको मूल्य बढ्नु पथ्र्यो । तर, डलर केही बजबुद भएको छ, खासै मजबुद भएको छैन । सुनको भाउ घटिरहेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि सुनको भाउ घट्छ । तर, पेट्रोलिय पदार्थको भाउ पनि १, २ डलरले मात्रै घटेको छ । पेट्रोलको भाउले सुनको भाउ घटाउन भूमिका खेलेको छैन, सहयोग मात्रै गरेको छ ।

र, अर्काे प्रमुख विषय भनेको अहिले अन्तराष्ट्रिय बजारमा औद्योगिक उत्पादन बढिरहेको छ । सेयर बजार बलियो भयो भने पनि सुनको मूल्य घट्छ । यसपाली सेयर बजार पनि खासै बढिरहेको देखिदैन ।

१२०० डलरभन्दा तल मूल्य झर्यो भने प्रतिऔस ११८० अमेरिकी डलरसम्म आइपुग्न सक्छ भन्ने प्रक्षेपण पनि सार्बजनिक भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔस ११८० अमेरिकी डलरमा सुनको मूल्य झर्यो भने नेपालमा प्रतितोला ५२ हजार रुपैयाँ पर्छ ।

अहिले अन्तराष्ट्रिय बजारमा औद्योगिक उत्पादनको माग बढी छ । यसैले गर्दा सुनको बिक्रीमा चाप पर्यो । लगानीकर्ताहरु सुन बेचेर औद्योगिक उत्पादनतिर लागेका हुन् कि भन्ने देखिन्छ । अहिले सुनको बिक्री उच्च भएको कारण सुनको भाउ घटेको हो ।

अर्काे कारण के पनि हो भने अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले सन् २०१७ मा ३ पटक ब्याजदर बढाउने भनेको थियो । त्यसैअनुसार सन् २०१७ को जनबरीमा ब्याजदर बढ्यो, मार्च अप्रिलमा पनि बढ्यो । अब तेस्रो पटक बढाउने तयारी हुदैछ भन्ने हल्ला अन्तराष्ट्रिय बजारमा आएको छ । कसैकसैले त आगामी सेप्टेम्बरमै ब्याजदर बढाइदैछ पनि भनेका छन् । त्यो बेलामै नभएपनि डिसेम्बरसम्ममा त ब्याज बढ्छ नै भन्नेहरु पनि छन् । यो कारणले पनि सुनको भाउ घटिरहेको छ ।

युरोपियन इकोनोमिक कमन मार्केटले पनि फेडेरल रिजर्भको ब्याजदर सम्बन्धि निर्णयको प्रतिक्षा गरेको देखिन्छ । यसकारण पनि अहिले आफूसँग भएको सुन बेच्नु नै उपयुक्त हुन्छ भन्ने सन्देश गएको छ । यसैकारण सुनको भाउ घटेको हो, अझै केही दिन सुनको भाउ घट्ने यी कारणले देखाउछ ।

सन् २०१७ मा सुनको मूल्य कम्तिमा प्रतिऔस १२ सय अमेरिकी डलर र बढी १३ सय डलर पुग्ने अनुमान सार्बजनिक भइरहेको छ । केही समय अगाडि सुनको भाउ बढेर प्रतिऔस १२९१ अमेरिकी डलरसम्म पुग्यो । घटेको बेलामा १२२१ डलरसम्म भएको थियो । गत शनिबार प्रतिऔंस १२१३ अमेरिकी डलरमा झर्यो । शनिबार राती अमेरिकी बजारमा एउटा नयाँ समाचार आएको छ । त्यो के हो भने १२०० डलरभन्दा तल मूल्य झर्यो भने प्रतिऔस ११८० अमेरिकी डलरसम्म आइपुग्न सक्छ भन्ने प्रक्षेपण पनि सार्बजनिक भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔस ११८० अमेरिकी डलरमा सुनको मूल्य झर्यो भने नेपालमा प्रतितोला ५२ हजार रुपैयाँ पर्छ ।

केही समययता नेपालमा अमेरिकी डलरको सटही दर प्रतिडलर १०३ रुपैयाँको हाराहारीमा रह्यो । हाम्रो देशको अर्थतन्त्रको कारण यस्तो भएको होइन । भारु बलियो भएका कारण नेपालमा डलर सस्तो भएको हो । भारुसँग हामीले विनिमयदर निश्चित गरेका कारण यस्तो भएको हो । सुनको मूल्यमा पनि भारुको कारण कहिले काँही अन्तराष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा बढ्ने र अन्तराष्ट्रिय बजारमा बढ्दा नेपालमा घट्ने भएको उदाहरण छ ।

नेपाली बजारमा कहिलेसम्म सुनको मूल्य कम नै रहला भनेर भन्न कठिन छ । पहिला पहिलाको कुरा गर्ने हो भने साउन महिनामा सुनको मूल्य घट्थ्यो । मान्छेहरु सुन बेचेर बालीनाली लगाउथे । तर अहिले उल्टो हुन थालेको छ । हाम्रो आन्तरिक बजारमा माग कम भएपनि साउनमा अन्तराष्ट्रिय बजारमा सुनको माग बढेर भाउ बढ्ने पनि हुने गरेको छ । नेपाली बजारमा सुनको मूल्यमा दुई चार सय आन्तरिक बजारको कारणले, केही असर भारुको कारणले र मुख्य गरेर अन्तराष्ट्रिय बजारका कारण फरक पर्छ ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्यसँगको कुराकानीमा आधारित  आधारित


क्लिकमान्डु