६ वर्षको प्रयासपछि ट्र्याक खोलियो



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेको बगैंचादेखि वडा नम्बर २ भगवतीको रिसीनचौतारी हुँदै बेगखोला जोड्ने सडकखण्डअन्तर्गत बनाखीको भिरमा ट्र्याक निर्माण भएको छ ।

विगत ६ वर्षदेखि सडक निर्माण सुरु गरिएको सो सडकअन्तर्गत कडा चट्टानको कारण निर्माण कार्य रोकिरहेको बनाखी भिरमा यो वर्ष डोजर लगाएर ट्र्याक निर्माण गरिएको हो ।

गलेश्वरदेखि बेगखोलासम्मको सडकको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको पिप्ले बगैँचा–रानीपौवा–रिसीनचौतारी– माछखर्क–बेगखोला सडकअन्तर्गत यो वर्ष १० लाख रुपैयाँ बजेटबाट सो ट्र्याक निर्माण गरिएको हो ।

जिल्ला समन्वय समितिमार्फत ९लाख १० हजार रुपैयाँ र स्थानीयको एक लाख एक हजार रुपैयाँ बराबरको श्रमदानबाट रानीपौवा र रिसीनचौतारीको बीचमा पर्ने सो भिरमा ट्र्याक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जगत शाहीले बताए ।

विगत छ वर्षदेखि निरन्तर प्रयास गर्दासमेत उल्लेख्यरुपमा बजेट विनियोजन नभएको र विनियोजन भएको बजेटले समेत सो भिरमा ट्र्याक खन्न सकिएको थिएन ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरदेखि बेगसम्मको खण्डको वैकल्पिक मार्गका रुपमा निर्माण गर्न लागिएको सो सडकखण्डमा खहरेखोलादेखि माछखर्कको बीचमा रहेको करिब ३०० मिटर भिरमा ट्र्याक निर्माण गर्न बाँकी छ ।

बगैँचादेखि रिसीनचौतारी हुँदै खहरेखोलासम्म र बेगखोलादेखि माछखर्कसम्म ट्र्याक निर्माण कार्य सम्पन्न भएकाले आगामी वर्षमा सजिलैसँग ट्र्याक निर्माणले पूर्णता पाउने स्थानीयवासीको भनाई छ । यस वर्ष नै यो खण्डको ट्र्याक निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि बजेट अभावले सम्भव नभएको हो ।

पिप्लेको बगैँचादेखि रानीपौवा हुँदै भगवतीको रिसीनचौतारी माछखर्क हुँदै बेगखोला जोडिने यो सडकले स्थानीय २ हजार ५ सय घरधुरी लाभान्वित हुने छन् भने गलेश्वरदेखि बेगखोला खण्डको वैकल्पिक मार्गका रुपमा समेत प्रयोगमा ल्याउन सकिनेछ । रासस


पुष्प दुलाल