उद्योगमा लगानी बढ्यो, ४ सय ८९ उद्योगले १ खर्ब ५८ अर्ब लगानी गर्ने



काठमाडौं । चालू आर्थिक वर्ष उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका चार सय ८९ परियोजना दर्ता भएका छन् । यी परियोजनाको कुल पुँजी एक खर्ब ५८ अर्ब २४ करोड रुपैयाँ रहेको उद्योग विभागले जनाएको छ ।

गतवर्ष १ खर्ब २१ अर्ब रुपैयाँ कुल पुँजीका ४ सय ८ उद्योग दर्ता भएका थिए । गत वर्षको तुलनामा यस वर्ष लगानी ३७ अर्बले बढी हो ।

यो वर्ष कृषि तथा वन, निर्माण, सूचना प्रविधि, ऊर्जा, सेवा र पर्यटन क्षेत्रमा लगानी बढेको छ । दर्ता भएका परियोजनामा स्वदेशी लगानी बढी छ ।

अहिलेसम्म उद्योग विभागमा सात हजार ७३ उद्योग दर्ता भएको देखिन्छ । यी परियोजनाको कुल पुँजी १३ खर्ब २७ अर्ब ६५ करोड रुपैयाँ छ ।

उत्पादनमूलक १ सय १७ परियोजनामा ४० अर्ब ३२ करोड कुल पुँजी रहेको छ । दर्ता भएका उद्योगमध्ये काठमाडौंमा २ सय १०, ललितपुरमा ६१, कास्कीमा ३३, चितवनमा १७, रूपन्देहीमा १५ र बाँकी अन्य जिल्लामा छन् ।

उद्योग विभागमा कृषि तथा वनजन्य परियोजना २४ वटा दर्ता भएका छन् । तीनवटा निर्माणसम्बन्धी परियोजना दर्ता हुँदा ऊर्जाका १९ वटा, सूचना प्रविधिका १३, उत्पादनमूलक १ सय १७, खनिजजन्य ३, सेवामूलक एक सय ६० र पर्यटनका १ सय ५० परियोजना दर्ता भएको देखिन्छ ।

यस बर्ष गत वर्षको तुलनामा ८० वटा परियोजना बढी दर्ता भएका हुन् ।

ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानीका परियोजना दर्ता भएका छन् । दर्ता भएका १९ परियोजनाको कुल पुँजी ८२ अर्ब २० करोड छ ।

गत वर्ष उत्पादनमूलक परियोजनामा लगानी बढी थियो । दर्ता भएका एक सय ३५ उत्पादनमूलक परियोजनामा ५८ अर्ब ६६ करोड रुपैयाँ कुल पुँजी रहेको थियो । यस्तै, ऊर्जा (३८ अर्ब), सेवा (१२ अर्ब) र पर्यटन (११ अर्ब) क्रमशः दोस्रो, तेस्रो र चौथो थिए ।

यस वर्ष सबैभन्दा बढी परियोजना सेवा (१६०) र पर्यटन (१५०) क्षेत्रका दर्ता भएको उद्योग विभागले जनाएको छ । यिनको क्रमशः १४ अर्ब ९५ करोड र १४ अर्ब ८७ करोड कुल पुँजी छ ।

उत्पादनमूलक १ सय १७ परियोजनामा ४० अर्ब ३२ करोड कुल पुँजी रहेको छ । दर्ता भएका उद्योगमध्ये काठमाडौंमा २ सय १०, ललितपुरमा ६१, कास्कीमा ३३, चितवनमा १७, रूपन्देहीमा १५ र बाँकी अन्य जिल्लामा छन् ।

यो वर्ष दर्ता भएका परियोजनाले २५ हजार ७८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु