यसरी बनाइँदैछ, ‘ठमेल भित्रको ठमेल’ अर्थात् छायाँ सेन्टर



काठमाडौं । पर्यटकलाई एउटै छानामुनि स्तरिय होटलसहित सम्पूर्ण सेवाहरु उपलब्ध गराउने उद्देश्यका साथ ‘ठमेल भित्रको ठमेल’ छायाँ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ ।

सात व्यवसायीको लगानी रहेको सेन्टर आगामी सन् २०१८ को सुरुवातमा संचालन गर्ने लक्ष्यका साथ निर्माणकार्य धमाधम भइरहेको छ ।

ठमेलको भगवानबाहल क्षेत्रमा करिव १५ रोपनी क्षेत्रफलमा व्यवसायीक कम्पलेक्स निर्माण भइरहेको हो ।

‘छायाँ सेन्टर संचालनमा आएपछि ठमेलको पर्यटनमा नयाँ आयाम थपिनेछ’ प्रवद्र्धक सुमन पाण्डेले क्लिकमाण्डूसँग भने ‘साथै ठमेलको सान बढाउन सहयोग पुग्ने विश्वास समेत लिएका छौं ।’

नेपाली वास्तुकलामा आधारित भएर अहिले सेन्टरको निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ । सन् २०१८ को सुरुवातमै संचालन गर्ने लक्ष्य राखेको पाण्डेले जानकारी दिए ।

छायाँ सेन्टरमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठले लगानी गरेका छन् । सेन्टरको निर्माण, संचालन तथा व्यवस्थापन पाण्डे र श्रेष्ठले समालेका छन् ।

‘ठमेल भित्रको ठमेल’

‘ठमेल भित्रको ठमेल’ भन्ने अवधारणामा निर्माण भइरहेको छायाँ सेन्टरमा मुलुकमै पहिलो पटक हाइड्रोलिक सिष्टमको पार्किङ स्थल रहने छ । जुन सिष्टमबाट एउटै तल्लामा तल र माथि गरी दुई तहमा गाडी पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ ।

अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिनेछ । जहाँ ३८६ गाडी र २१७ मोटरबाइक एकैपटक पार्किङ गर्न सकिन्छ । ‘प्रोजेक्ट संचालनमा आएपछि ठमेलको पार्किङ समस्या समाधानमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुलुककै सुविधा सम्पन्न र भव्य कम्पलेक्सका रुपमा रहने छायाँ सेन्टरमा २ सय ५० वटा पसल, ७ वटा रेष्टुरेन्ट, तीनवटा सिनेमा हल, पाँच वटा सभा हल र १ हजार वर्गफिट क्षमताको ब्याङवेट हलसमेत रहने छ ।

क्यूएफएक्सले तीनवटै सिनेमा हल किनिसकेको छ । केही बाहेक पसलहरु कवलमा बुकिङ भइसकेको छ ।

छायाँ सेन्टरमा प्रसिद्ध ब्रान्डलाई प्राथमिकतामा राखिएको छ । क्यूएफएक्स, नाङ्लो बेकरी क्याफे, होन्डा, इटालियन रेष्टुरेन्ट, एयरलाइन्स कम्पनी, पश्मिना र क्यूरियो व्यवसायी, ट्राभल व्यवसायीलगायतले बुकिङ गरिसकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित ब्रान्डलाई छायाँ सेन्टरमा भित्रिने छन् ।
‘पब्लिकमा गएर घरजग्गा बेचे जसरी कबल बिक्री गर्ने हाम्रो उद्देश्य छैन, उपयुक्त व्यवसायी छनौट गरी आफै निम्ता गरेर ल्याउँछौं,’ पाण्डेले भने ।

स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा–सुविधा एकै स्थानमा उपलब्ध गराउने छ । नमुना कम्प्लेक्सको रुपमा विकास गर्न लागिएको सेन्टर २४ घण्टा नै खुल्ला रहनेछ । पर्यटक सुरक्षाका लागि प्रहरी र आफ्नै सुरक्षा टिम खटिने छन् ।

ठमेलको शान बढाउने विश्वास लिइएको सेन्टरबाट संसारको जुनसुकै कुनाबाट पनि सामान खरिद गर्न सक्ने व्यवस्था गरिनेछ । कम्पनीले ठमेलको अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरी बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

५ अर्ब लगानीमा ५ तारे होटल ‘अलफ्ट काठमाडौं’

पर्यटकीय क्षेत्र ठमेलमा निर्माण भइरहेको व्यापारिक कम्पलेक्स ‘छायाँ सेन्टर’मा रहने पाँचतारे होटल स्टारउडको ‘अलफ्ट ब्रान्ड’का नाममा संचालन हुने छ ।

होटल संचालन गर्ने विषयमा छायाँ सेन्टर अलफ्ट बिजनेश होटलबीच दुईवर्ष अगाडिनै दुइपक्षिय सम्झौता भएको छ । होटल र कम्पलेक्समा गरि करिव ५ अर्ब रुपैयाँ लगानी रहने छ ।

स्टारउडले विश्वभर एक दर्जन ब्रान्डमार्फत चेन होटलहरू संचालन गर्दै आइरहेको छ । जसमा अलफ्ट बिजनेश होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड प्रिफररेड गेष्ट रहेका छन् ।

अलफ्टसँग होटलको सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा लिने गरी सम्झौता भएको छ । १५ तलाको भवनमा १ सय ७५ वटा रुमहरु हुनेछन् । होटलका सबै सुविधा डिलक्स हुने छन् ।

कुन तलामा के छ ?

छायाँ सेन्टरको अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङ स्थल, डिस्को थेक रहने छ । लोअर ग्राउन्ड तलामा डिपार्टमेन्टल स्टोर, क्यासिनो, डिस्को थेक, गाडी तथा मोटरसाइकल पार्किङ रहनेछ ।

ग्राउन्ड तलामा पसल र एउटा रेष्टुरेन्ट रहने छ । नाङ्लोले ग्राउन्ड तलामा स–साना २ वटा बेकरी राख्ने छ । पहिलो तलामा तीनवटा रेष्टुरेन्ट र पसलहरु रहनेछन् । पहिलो तलामा नाङ्लोको रेष्टुरेन्ट रहनेछ ।

दोस्रो तलामा पनि तीनवटा रेष्टुरेन्ट र पसलहरु रहने छन् । तेस्रो तलामा विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु, बैंकका शाखाहरु, एयरलाइन्स तथा ट्राभल एजेन्सीका कार्यालयहरु रहने छन् । तेस्रो तलामा यति एयरलाइन्सले आफ्नो अफिस राख्ने भएको छ ।

चौथो तलामा तीनवटा सिनेमा हल र फुड कोर्ट, ब्याङ्कवेट हल, मिटिङ हल, पसलहरु रहनेछन् । पाँचौ तलादेखि १५ औं तलासम्म पाँचतारे होटल ‘अलफ्ट काठमाडौं होटल’ रहने छ । चौथो र पाँचौं तलामा मल्टिप्लेक्स समेत रहने छ ।

सेन्टरमा एभरेस्ट बैंकको नेतृत्वमा आधा दर्जन बैंकले सहवित्तीयकरण कर्जा प्रवाह गरेका छन् । भवन नेपाली वास्तुकलामा आधारित रही नेपाली इन्जिनियरहरुले डिजाइन गरेका हुन् ।


पुष्प दुलाल