काठमाडौं महानगरले क्यासिनोलाई १ हजार प्रतिशत कर बढायो



काठमाडौं । काठमाडौं महानगरपालिकाले क्यासिनो कम्पनीबाट लिने करको शुल्कमा १ हजार प्रतिशतले उच्च वृद्धि गरेको छ ।
महानगरले यहि साउन १ गतेदेखि लागू हुनेगरि क्यासिनो करमा १ हजार प्रतिशतको उच्च वृद्धि गरेको हो ।

महानगरपालिकाले यहि असार ३१ गते पारित गरेको काठमाडौं महानगरपालिका आर्थिक ऐन २०७४ अनुसार क्यासिनो संचालन गर्ने कम्पनीले अबदेखि १० लाख रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

महानगरपालिकाको नगर सभाबाट स्वीकृत भएको आर्थिक ऐनअनुसार अबदेखि क्यासिनो संचालकले क्यासिनो संचालन गरे बापत वार्षिकरुपमा १० लाख रुपैयाँ तिर्नुभएको हो ।

यसअघि क्यासिनोका लागि महानगरपालिकालार्इ तिर्नुपर्ने कर १ लाख रुपैयाँ तोकिएको थियो ।

महानगरपालिकाले क्यासिनो संचालनबाट हुने करलाई अन्य व्यवसायअन्तर्गत कर आय हुने क्षेत्रमा राखेको छ ।

त्यसैगरि महानगरपालिकाले होटल तथा रेष्टुरेन्टको कर पनि निर्धारण गरेको छ । महानगरपालिको आर्थिक ऐन २०७४ अनुसार तारे होटलहरु तथा सामान्य रेष्टुरेन्ट तथा होटलले स्तरअनुसार कर तिर्नुपर्ने भएको छ ।

महानगरले पर्यटन उद्योग तथा व्यवसाय गर्ने सम्पूर्ण क्षेत्रको करको राजस्व निर्धारण गरेको छ ।

महानगरपालिकाको आर्थिक ऐन २०७४ अनुसार पाँच तारे होटलले वार्षिकरुपमा ५० हजार रुपैयाँ कर महानगरपालिकालाई तिर्नुपर्ने भएको छ भने चार तारे होटलले ४० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यसैगरि तीन तारे, दुई तारे र एक तारे होटलले क्रमशः ३० हजार , २० हजार र १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

तारे होटलको कर आयमा भने यसअघिकै अनुसारको कर निर्धारण गरिएको छ ।

होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्यले महानगरले करको दर नयाँ निर्धारण गरेको सुनेपछि हालसम्म आधिकारिक जानकारी नपाएको बताए । उनले एउटा होटलले अहिले व्यवसाय कर, घरजग्गा कर, साइनबोर्ड कर र भाडा करलगायतका शिर्षकमा राजस्व तिर्ने गरेको जानकारी दिए ।

ऐनअनुसार बेतारे होटलले भने आकार अनुसार भुक्तानी गर्नुपर्ने हुन्छ । मझौला बेतारे होटलले ३ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने ठूलो आकारको बेतारे होटलले ५ हजार रुपैयाँ तिर्नुपर्दछ ।

रेष्टुरेन्ट एण्ड बारलाई भने छुट्टा छुट्टै कर तोकेको छ । महानगरपालिकाले सानो आकारको एक प्रकारको रेष्टुरेन्ट एण्ड बारलाई ३ हजार रुपैयाँ तोकेको छ भने अर्को किसिमको सानो रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ तोकेको छ । ठूलो आकारको एक प्रकारको रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ कर निर्धारण गरेको छ भने अर्को प्रकारको ठूलो आकारको रेष्टुरेन्ट एण्ड बारले ८ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

महानगरपालिकाको आर्थिक ऐन अनुसार लज गेष्ट हाउस, ट्रेकिङ एजेन्सी, राफ्टीङ, सफारी, अश्वारोहण, ट्रेकिङ सामान सम्बन्धी पसल, पर्यटक आवास, रिसोर्टजस्ता पर्यटन व्यवसायले ३ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

त्यस्तै ट्राभल एजेन्सीले १० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने स्कीइङ, ग्लाइडिङ, वाटर र्याफ्टीङ पोनी ट्रेकिङ, पदयात्रा, हटएयर ब्यालुनिङ, प्यारा ग्लाइडिङ, गल्फकोर्स, पोलो, केवल कार सेवा र अन्य पर्यटन उद्योगजस्ता व्यवसायले पनि ३ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ ।

महानगरपालिकाकाअनुसार पर्यटन उद्योग तथा व्यवसायअन्तर्गत तोकिएको विदेश विमान सेवाले ८ हजार रुपैयाँ कर भुक्तानी गर्नुपर्दछ भने स्वदेशी विमान सेवा नीजिले ५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु