विद्युत् आयोजनाको पाइप फुट्दा चार घरमा क्षति



चौतारा। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर घर क्षति भएपछि चारजना विस्थापित भएका छन् ।

लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६.५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति पुग्नाका साथै २९ खसी–बाख्रा र १३० वटा कुखुरा बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी दिएको छ ।

बाढीले चिनी तामाङको घर क्षतिग्रस्त भई २५ खसी बाख्रा र १०० वटा कुखुरा बगाएको छ भने पासाङ नुर्वु शेर्पा, नुर्बु तामाङ र मनिषा तामाङको घरमा पानी पसेकाले उनीहरु अन्यत्र सुरक्षित ठाउँमा बसेको प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए । बाढीले पासाङको पाँच कुखुरा र मनिषाको चार बाख्रा तथा २५ वटा कुखुरासमेत बगाएको छ ।

शनिबार राति परेको अविरल वर्षाले स्थानीय छ्यादी खोलामा आएको बाढीले आयोजनाको डेढ मिटर गोलाइको ७० मिटर पाइप बगाएकाले विद्युत् उत्पादनसमेत बन्द भएको छ ।

अरनिको राजमार्गको १०० किमीमा पर्ने चाकु बजारदेखि आयोजनास्थलसम्म पुग्ने सडक पूरै अवरुद्ध भएकाले हिउँद नलागी पुनःनिर्माण हुन नसक्ने आयोजनाका प्रबन्ध निर्देशक समन मानन्धरले बताए।

 


क्लिकमान्डु