यस्ता पनि बैंक छन्, जसले ऋण दिन्छन्, ब्याज लिँदैनन्



काठमाडौं । हामी बैंक भन्ने वित्तिकै सर्वसाधारणलाई ब्याज दिने गरि ‘कच्चा पदार्थ’को रुपमा निक्षेप उठाउने र ऋणीहरुलाई त्यो भन्दा बढी ब्याजमा कर्जा परिचालन गरेर नाफा कमाउने वित्तीय संस्था हो ।

अहिलेको आधुनिक बिश्वमा बैंकिङ संस्था कुनै पनि अर्थतन्त्रको मेरुदण्ड भैसकेको छ । र, बैंकको पनि मेरुदण्ड भनेको ब्याजदर हो ।

तर, बिश्वमा यस्ता पनि बैंकहरु छन्, जसले न सर्वसाधारणलाई निक्षपका लागि ब्याज दिन्छन्, न त ऋणीहरुबाटै ब्याज उठाउँछन् ।

इस्लामी शरीय कानुन अनुसार खोलिएका बैंकहरु आफ्ना ग्राहकहरुलाई उनीहरुले जम्मा गरेको पैसामा ब्याज दिंदैनन् । र, गा्रहकहरुलाई परिचालन गरिएको कर्जामा पनि ब्याज लिंदैनन् ।

इस्लाममा ब्याजमा पैसा दिने कर्म बर्जित छ । किनभने यसमा ‘सूदखोरी’लाई ‘हराम’ मानिन्छ । इस्लामिक बैंकले राम्रो आचरणका आधारमा ऋण प्रवाह गर्छ । र, ऋण दिनेहरुले मुलधनमात्र बैंकलाई तिर्नुपर्छ । अर्थात्, ऋणमा ब्याज लिईंदैंन ।

इस्लामिक बैंकिङमा बैंक ‘फण्ड’को ‘ट्रस्टी’को रुपमा काम गर्छ । बैंकमा मानिसहरु पैसा जम्मा गर्छन् र, आफुलाई चाहिएको समयमा निकाल्न सक्छन् । यहाँ बचत खाताबात ब्याज कमाउने अनुमति हुँदैंन ।

तर, जब बैंकले सर्वसाधारणको निक्षेपबाट केही पैसा कमाउँछ, तब त्यो कमाई ‘उपहारको’ रुपमा खाताधनीहरुलाई नै फिर्ता दिन्छ ।

इस्लामिक बैंकले काम कसरी गर्छन् ?

अब यहाँ प्रश्न उठ्नु स्वभाविक हो कि जुन बैंक न ब्याज लिन्छ, न दिन्छ, त्यस्तो बैंकले आफ्ना कर्मचारीलाई कसरी तलब खुवाउलान् ? आफ्ना अन्य खर्चको जोहो कसरी गर्लान् ?

खासमा कुरा के हो भने इस्लामिक बैंकले ‘पछाडीको ढोका’बाट आम्दानी गर्छ ।

इस्लामिक बैंकहरु आफ्नो बैंकमा संकलन भएको निक्षेपले अचल सम्पत्ति (घर, जग्गा आदि) खरिद गर्ने गर्छन् । इस्लामिक ‘मोर्टगेज’ कारोबारमा बैंक सम्पत्ति किन्नका लागि खरिदकर्तालाई कर्जा दिंदैंनन्, बरु बैंक आफैंले बिक्रेतासँग सम्पत्ति खरिद गर्छ । र, खरिदकर्तालाई नाफामा बेच्छ । यसका लागि बैंकले खरिदकर्तालाई किस्तामा पेमेन्ट गर्ने सुबिधा प्रदान गर्छ ।

बैंकले लगानीबाट जति नाफा कमाउँछ, त्यो नाफा ग्राहकहरुका बिच नै बाँढिदिन्छ । र, बैंकको अन्य खर्च पनि यसैबाट धानिन्छ । साथै, ध्यान दिनुपर्ने अर्को कुरा के पनि छ भने बैंक यदि घाटामा गएमा ग्राहकहरुले पनि घाटाको हिस्सा भने ब्यहोर्नुपर्छ ।

उदाहरणको लागि यदि कोही घर किन्नको लागि इस्लामिक बैंकमा ऋण लिन गयो भने उसलाई ऋण नभएर घर नै किनेर दिने गरिन्छ । मान्नुस्, त्यो घरको यदि २० लाख रुपैंयाँ पर्छ भने खरिदकर्तालाई १५-२० बर्षमा तिर्नसक्ने गरि किस्ताको निर्धारण गरिन्छ । र, सो समयमा बैंकले ३०-३२ लाखसम्म ग्राहकबाट असुल्छ ।

इस्लामी कानुनअनुसार पैसा कमाउने तीन तरिका हुन्छन्- खेती, शिकार र उत्खनन् । निश्चित आम्दानी र ब्याज दिने सेक्युरिटिज, बोण्ड, डिबेन्चर आदिलाई इस्लाममा अनुमति दिइएको छैन ।

इस्लामिक बैंक धेरै देशहरुमा प्रचलनमा छ । बिश्वबिख्यात बैंकहरु स्ट्यान्डर्ड चार्टड, एचएसबिसि लगायतले पनि आफ्नो परम्परागत बैंकिङका अलावा इस्लामिक बैंकिङ पनि सञ्चालन गर्ने गरेका छन् ।

इस्लामिक बैंकिङको मुल उद्देश्य भनेको शरीय कानुन बमोजिम धेरै भन्दा धेरै नाफा कमाउनु हो । इस्लामिक बैंकिङ पुँजीको ओसारपसारको बिरुद्धमा छैन । तर, केही खास नियम र प्रक्रियाको भने पालना गर्नुपर्ने हुन्छ ।


पुष्प दुलाल