सडक सुधार गर्न प्रधानमन्त्री देउवाले राखे यस्तो प्रस्ताव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा निर्माण हुने निकायबीच समन्वयन गर्न बोर्ड गठन गर्ने प्रस्ताव गरेका छन् ।

अहिले सडक विभाग, खानेपानी तथा ढल, विद्युत् प्राधिकरण, टेलिकम तथा केवल प्रदायकले सडक प्रयोग गरेर पूर्वाधार निर्माण गरेपनि सरकारी निकायबीच आवश्यक समन्वयन हुने गरेको छैन ।

नेपालमा सडक पिच हुने र पुनः खन्ने क्रम नेपालमा जहिलेपनि चल्छ ।

३ वर्षअघि तीनकुनेदेखि माइतिघरसम्मको सडक विस्तारपनि राम्रो बन्यो । धेरैले यो सडक हेरेर अब काठमाडौंमा जाम हुँदैन भन्ने अनुमान गरे । तर, काठमाडौंमा मेलम्चीको खानेपानी आयोजनाले पाइप बिच्छाउन बाँकी नै थियोे । बनेका सडकहरु पुनः खनिए र त्यहाँ पाइप बिच्छाइएका छन् ।

सडकमा खानेपानी, ढल तथा विजुली र केवलका तारहरु छरपस्ट देखिन्छन् । मेलम्ची आयोजनाले खानेपानीको पाइप बिच्छाएपछि सडकमा धुलो छ र पानी परेपछि हिलो हुन्छ । केही स्थानमा अस्थाई पिच गरिएपनि सडक खनेपछि त्यो अनुसार मिलेको छैन ।

मेलम्चीको खानेपानीको लागि पाइप बिच्छाएपछि त्यसमा ढलको लागि थप व्यवस्था गर्नुपर्ने छ । विद्युत् प्राधिकरणले पनि विजुलीको तारलाई सडक मुनीबाट लैजाने तयारी गरेको छ । प्राधिकरणले काठमाडौंमा तार रहित बनाउन सडक मुनीबाट विजुलीको लाइन विस्तार गर्ने तयारी गरेको हो ।

यस्तै काठमाडौंको सडकमा टेलिफोनको लाइनको तार र केवल तथा इन्टरनेट सेवा प्रदायकका तारहरु अव्यस्थित छन् । एउटा सडकमा विभिन्न निकायले काम गर्न सहकार्य हुने गर्दैन ।

‘सडकमा धेरै निकाय भएको हुँदा व्यवस्थित काम भएन,’ प्रधानमन्त्री देउवाले उच्च सरकारी अधिकारीहरुसँग छलफलको क्रममा भने, ‘सडकमा निर्माण गर्नुपर्ने पूर्वाधारका काम एउटै निकायबाट गर्नुपर्छ।’

प्रधानमन्त्रीले सडक विभागले सडक निर्माण गर्ने र त्यही सडकमा खानेपानी, ढल तथा विजुलीका पोलदेखि तारहरु अव्यस्थित भएको भन्दै सडक सुधारको लागि एउटै बोर्ड गठन गर्ने प्रस्ताव गरेका हुन् ।

यसरी गठन हुने बोर्डले सडकमा निर्माण हुने पूर्वाधार बोर्ड अन्तर्गत हुने छ । ‘हिले सडक विभागले सडक निर्माण गर्छ त्यसपछि त्यो सडकमा ढलको लागि पाइप बिच्छाउने काम हुन्छ,’ बैठकमा सहभागी एक सरकारी अधिकारीले भने, ‘प्रधानमन्त्रीबाट सडक पूर्वाधारको लागि बोर्ड गठन गर्ने र बोर्डबाटै सबै पूर्वाधार निर्माण गर्ने भन्ने रहेको छ।’

बोर्डले सडक निर्माण देखि खानेपानी, ढल तथा विजुली तथा टेलिकम र केवलको तारहरुको व्यवस्थापन गर्छ । अहिले सडकमा जसले जे गरेर खनेपनि हुने व्यवस्था छ ।

सावर्जजनिक सम्पत्ती सडक प्रयोग गरेर पूर्वाधार खडा गर्ने सरकारी निकायबीच समन्वयन नहुँदा विकास व्यवस्थित भएको छैन । पैसापनि खर्च हुने र त्यसबाट गुणस्तरको काम नहुँने देखिसकेको छ । जुन काठमाडौंमा विस्तार भएका सडक र त्यसपछि पिच भएको र अहिले मेलम्चीको खानेपानीले भत्याएका सडकबाट देखिन्छ ।

व्यवस्थित सडकको लागि बोर्ड गठन गरेर लैजादा कस्तो हुन्छ त्यसको अध्ययन गर्न प्रधानमन्त्री देउवाले सरकारी अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

‘सडकको अवस्था यसरी चल्दैन,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै भेटमा सहभागी एक अधिकारीले भने, ‘अल्पकालिन रुपमा कसरी सुधार गर्न सकिन्छ त्यो गरौ र दीर्घकालिन रुपमा के गर्नुपर्छ त्यो काम गरौ। कहा समस्या छ म समाधान गर्न तयार छु।’


क्लिकमान्डु