भन्सार नतिरी ल्याएको मोबाइल ब्लक गर्ने प्राधिकरणको तयारी




काठमाडौं । तपाइले प्रयोग गरिरहेको मोबाइल अबैधरुपमा आयात गरिएको त होइन ? हो, भने कुनै पनि समय चल्दै नचल्ने हुन सक्छ ।

अबैध रुपमा आयात गरिएका मोबाइल फोन कुनै पनि समय ब्लक गर्ने तयारी नेपाल दुरसंचार प्राधिकरणले गरेको छ ।

राजस्व तिरेर हुने बैधानिक आयातलाई प्रोत्साहन गर्न प्राधिकरणले यस्तो योजना अगाडि सारेको हो । यो योजनाअनुसार मोबाइलको रेकर्ड गर्ने व्यवस्था गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ ।

दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले मोबाइलको आईएमईआई नम्बरलाई ट्रयाक गर्ने गरी ईक्यूपमेन्ट आईडेन्टिटी रजिष्ट्रिको कानूनी संरचना तयार पार्न लागेको छ ।

यसको लागि प्राधिकरणले नियुक्त गरेको परामर्शदाता कम्पनी बेलायतको लाउरेसिया एसोसिएसट् प्रालिको ज्वाइन्ट भेन्चरले यसको मस्यौदा प्रतिवेदन बुझाएको छ । असार १५ गते प्राधिकरणमा बुझाएको प्रतिबेदनमाथि छलफल भएर यसको अन्तिम प्रतिबेदन बुझाउने चरणमा रहेको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।

‘यो प्रतिवेदन आएपछि मोबाइलको अवैध आयातलाई निरुत्साहित गर्न सफ्टवेयर मार्फत मोबाइल फोनको आईएमईआईसहित सबै जानकारी दर्ता गर्न सकिनेछ,’ प्रवक्ता अर्यालले भने ।

उनकाअनुसार विदेशी मुलुकहरुमा पनि अवैध र गैरकानूनी मोबाइल आयात रोक्न यस्तो प्रणाली प्रयोगमा रहेका छन् । त्यस्तै यो प्रणालीले मोबाइलबाट हुने अपराधिक गतिबिधिको बारेमा पत्ता लगाउन सकिनेछ भने मोबाइल हराएमा त्यसको आईएमईआई तथा अन्य जानकारीको आधारमा पत्ता लगाउन सकिनेछ ।

‘यो प्रतिवेदनको आधारमा मोबाइलको ह्वाइट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट तयार हुनेछ,’ प्रवक्ता अर्यालले भने ।

प्राधिकरणकाअनुसार परामर्शदाता कम्पनीले अन्तिम प्रतिवेदन करिब १ महिनामा बुझाउने छ भने यसै प्रतिवेदनको आधारमा यसको प्रणाली तयार पार्ने कानूनी संरचना बनाउने लगायतका कार्यहरु अगाडि बढ्नेछन् ।


क्लिकमान्डु