त्रिविले पुनः कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने



चितवन। त्रिविले पाँच वर्षपछि भरतपुरमा कृषि संकायमा अध्ययन अध्यापन शुरु गर्ने भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनासँगै रामपुरमा विवाद भएर कृषि भर्ना लिन नपाइएपछि त्रिविले कृषि विषय पढाउन पाएको थिएन । हालै मात्र सरकारले दुई विश्वविद्यालयलाई भौतिक सम्पत्ति बाँडफाँट गरी विवाद मिलाएको हो । विवाद मिलेसँगै त्रिविले भरतपुरमा रहेको आफ्नो आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा कृषि स्नातक पढाउन शुरु गर्न लागेको हो।

त्रिविका उपकुलपति तीर्थ खनियाँले सरकारले त्रिविलाई कृषि विषय पढाउन शक्तिखोरमा जग्गा दिने निर्णय गरेसँगै भौतिक संरचना नबनेसम्मका लागि वीरेन्द्र बहुमुखी क्याम्पसमा कृषि पढाउन त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको बताए।

कृषि पढ्ने विद्यार्थीको मागलाई सम्बोधन गर्दै यही शैक्षिक सत्रदेखि कक्षा सञ्चालनका लागि आवश्यक निर्देशनसमेत भइसकेको उनले बताए।

त्रिवि, कृषि संकायका डिन केशव अधिकारीका अनुसार पढाइ सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार, पुस्तकालय, प्राध्यापक, प्रयोगशालालगायत काम अघि बढेको छ । रामपुरमा पढाइ नभए पनि प्राध्यापक र कर्मचारी रहेकाले तिनै प्राध्यापक र  कर्मचारीमार्फत वीरेन्द्रमा कृषि पढाइ सञ्चालन गरिने उनले जानकारी दिए ।

रामपुरमा कृषि र पशुचिकित्सामा स्नातकदेखि विद्यावारिधिसम्म पढाइ हुँदै आए पनि हालका लागि वीरेन्द्र क्याम्पसमा भने कृषिमा स्नातकमा मात्रै पढाइ हुने छ । यसअघि रामपुरमा पढाइँदै आएको कृषि र पशु चिकित्सामा स्नातक पछिल्लो समय कपिलवस्तुको पक्लिहवा र लमजुङको सुन्दर बजारमा कृषि पढाइँदै आएको छ ।

स्नातकोत्तर र विद्यावारिधि भने कीर्तिपुरमा पढाइँदै आएको छ । त्रिविको सम्बन्धनमा निजी क्षेत्रमा बैतडी र  इलाममा एक एक तथा दाङमा दुई  कृषि क्याम्पस सञ्चालनमा छन् । भरतपुरमा ५० विद्यार्थीलाई कृषिमा भर्ना लिने तयारी रहेको उनले बताए ।


क्लिकमान्डु