यस्तो छ, निर्वाचन आयोगले सार्वजनिक गरेको प्रदेश नं २ का १२७ स्थानीय तहको निर्वाचन कार्यक्रम



काठमाडौँ। निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १ सय २७ स्थानीय तहमा असोज २ गते बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मन्त्रिपरिषद्को असार १ गतेको बैठकले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो । प्रदेश नं २ अन्तर्गत गाउँपालिका/नगरपालिकाको संख्या १ सय २७ छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आगामी भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए । निर्वाचन कार्यक्रमअनुसार भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्तिलगायत आवश्यक तयारीका कार्य भइरहेको जनाएको छ । रासस


पुष्प दुलाल