सानो व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? यसरी लिनुहोस् बैंकबाट ऋण



काठमाडौं । पैसा कमाउन ठूलै ब्यापार/व्यवसाय गरिरहनु पर्दैन । स-सानो व्यवसाय गरेर पनि उल्लेख्य नाफा कमाउन सकिन्छ ।

तर, सम्पत्ति नभएका कारण अधिकांस मान्छेहरु व्यवसाय गर्नतिर भन्दा जागिर खानतिर लालायित हुन्छन् । जसले सानै भएपनि व्यापार/व्यवसाय गर्छ वा उद्यमी बन्छ, उसलेले भविष्यमा मालामाल कमाउँछ । र, समाजमा सफल अनि उदाहरणीय कहलिन्छ । जागिर खान गएको मान्छेले त औषतको जिन्दगी मात्रै गुजार्छ ।

त्यसोभए तपाईं किन व्यवसाय नगर्ने ?

अब तपाईंको मनमा प्रश्न आउँछ कि, सानो व्यवसाय गर्दा पैसा राम्रो कमाइ हुन्छ भने किन अहिले नै व्यापार/व्यवसाय गर्नतिर नलाग्ने ? व्यापार गर्नु त हुन्थ्यो तर पैसा छैन । पैसाबिना कसरी व्यापार हुन्छ र ? यस्ता प्रश्नहरुले तपाईंलाई सताउँछ नै ।

तपाईंको मनमा उठेका यस्तैजिज्ञासाहरुको समाधान गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो ।

ठूलालाई मात्रै होइन, सानालाई पनि ऋण दिन्छन् बैंक

कतिपयलाई लागेको हुनसक्छ हामीजस्ता मान्छेलाई बैंकले के ऋण पत्याउलान् र ? यदि त्यस्तो सोच्नुभएको छ भने तपाई गलत हुनुहुन्छ । बैंकहरुले साना तथा मझौला उद्योगलाई अझ प्राथमिकताका साथ ऋण दिन्छन् ।

सानो व्यवसायबाट नियमितरुपमा सावाँ/व्याज असूली हुने र २/४ वटा ऋण डुबे पनि बैंकलाई खासै असर नपर्ने भएकाले बैंकहरुले साना व्यवसायलाई सहजै ऋण दिने बताउँछन् हिमालयन बैंकका सीइओ अशोक राणा ।

‘ठूला उद्योग/व्यवसायमा लगानी गर्दा भन्दा साना तथा मझौला उद्योग व्यवसायमा लगानी गर्दा बैंकलाई राम्रो हुन्छ,’ राणा भन्छन्, ‘त्यसैले पछिल्लो समय बैंकहरुले साना तथा मझौला (एसएमइ) मा विषेश प्राथमिकता दिने गरेका छन् ।’

घरजग्गा, गाडी, सेयर लगायतमा प्रवाह हुने कर्जामा राष्ट्र बैंकले कडाई गरेसँगै बैंकहरु साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्न अग्रसर भएको राणाको भनाई छ । वितेका वर्षहरुमा बैंकहरुले एसएमइमा बढाएको कर्जाले त्यसको पुष्टि पनि गर्छ ।

कसरी लिने ऋण ?

पहिला के व्यवसाय सञ्चालन गर्ने हो, त्यो सरकारी निकायमा दर्ता गर्नुहोस् । त्यसपछि आफूलाई कति ऋण चाहिएको र के गर्न चाहिएको त्यो यकिन गर्नुहोस् । र, दर्ताको प्रमाणपत्रसँगै व्यवसाय सञ्चालनको सम्पूर्ण योजना र त्यसका लागि यति रकम आवश्यक पर्छ भनेर बैंकमा प्रस्ताब पेश गर्नुहोस् ।

ऋण लिनका लागि तपार्इंसँग बैंकमा धितो राख्नका लागि घर, जग्गा, सेयर र व्यवसाय सञ्चालन गरिरहेको भए त्यो पनि चाहिन्छ । कृषि व्यवसाय गर्दा भने प्रोजेक्ट धितोमै पनि बैंकहरुले ऋण दिइन्छन् ।

कच्चा पदार्थको आपूर्ति र आफूले तयार गरेको वस्तुको बिक्री गर्ने प्रष्ट योजना चाहिन्छ। त्यतिमात्रै होइन, व्यवसाय सञ्चालन गरेर यति नाफा कमाउँछु भन्ने योजना पनि पेश गर्नुपर्छ । किनभने घाटामा जाने व्यवसायमा बैंकले मात्रै होइन, कसैले पनि ऋण पत्याउँदैनन् ।

जब बैंकका कर्मचारीहरु तपाईंले बुझाएको प्रस्ताबमा कन्भिन्स हुन्छन्, तब तपाईंले बैंकबाट ऋण पाउनुहुन्छ । यो प्रक्रिया कम्तिमा एक हप्तादेखि २ हप्तासम्म लाग्न सक्छ ।

यसरी ऋण दिँदा ऋणीले बैंकको ऋण तिर्न सक्छ कि सक्दैन भनेर विश्लेषण गरेर मात्रै ऋण दिने जनता बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्री बताउँछन् ।

‘तपाईंले बैंक ऋण माग्दै पेश गरेको प्रस्ताबलाई बैंकले अध्ययन गर्छ र संभाव्यता देख्यो भने मात्रै बैंकले ऋण दिन्छ,’ क्षेत्री भन्छन्, ‘बैंकले त तपाईंले बैंकबाट लिएको ऋण कसरी तिर्नसक्नुहुन्छ भन्ने बलियो आकार हेर्ने हो । तपाईंको प्रोजेक्टमा बैंक कन्भिन्स भएपछि तपाईंले ऋण पाउनुहुन्छ ।’

बैंकहरुले साना तथा मझौला व्यवसाय गर्न ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म ऋण दिन्छन् । १ करोडसम्मको ऋणलाई साना अन्तगर्त राखिन्छ भने सोभन्दा माथि मझौलामा राखिन्छ ।

ऋण दुरुपयोग गरे जेल, ढिलो तिरे जरिवाना

ऋण खान कहाँ सजिलो छ र ? जानेर वा नजानेर ऋण लिएको पैसा फस्यो अनि तिर्न सकिएन भने जेलसमेत बस्नुपर्ने हुन्छ । त्यसैले बैंकबाट ऋण लिने विषयलाई ख्यालख्याल नसोच्नुहोस् ।

मानौं तपाईले एउटा कफी सप खोल्न भनेर बैंकबाट ऋण लिनुभयो । तर, पछि तपाईंलाई लाग्यो कि कफिसपमा भन्दा घरजग्गामा लगायो भने छिटो पैसा कमाइ हुनेरहेछ । त्यसपछि तपाईले बैंकबाट लिएको ऋण घरजग्गामा लगानी गर्नुभयो भने तपाईंलाई कर्जा दुरुपयोग गरेको अभियोगमा कडा कारबाही हुन्छ । विगो तिरेर जेलसमेत बस्नुपर्ने हुन्छ ।

त्यसैले, जे उद्देश्यका लागि कर्जा लिइएको हो, सोही क्षेत्रमा मात्रै बैंकबाट लिएको कर्जा परिचालन गर्नुपर्छ । यति गरेर मात्रै पुग्दैन तपाईंले कर्जाको नियमितरुपमा साँवव्याव किस्ताबन्दीभा भुक्तानी गर्नुपर्ने हुन्छ । किस्ता तिर्न एकदिन मात्रै ढिलो भयो भने पनि बैंकले तपाईंसँग जरिवाना असूल्छ ।


पुष्प दुलाल