फुटेको निजी क्षेत्रलाई चौधरी र मुरारकाले यसरी गरे एकताबद्ध



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)का संस्थापक अध्यक्ष विनोद चौधरीले सीएनआईको साधारणसभाको पूर्वसन्ध्यामा उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित पूर्वअध्यक्षलाई डाकेर ‘रिसेप्सन’ दिए ।

चौधरीले दिएको रिसेप्सनमा महासंघका अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानसहित पूर्वअध्यक्षहरु रविभक्त श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल र प्रदिपजंग पाण्डे सहभागी थिए ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सीएनआईको साधारणसभामा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा पनि सहभागी भएर मन्तब्य व्यक्त गर्ने कार्यक्रम छ ।

अहिले निजी क्षेत्रका दुई संस्थाबीचको लामो विवाद र तिक्तता समाप्त भएको र निजी क्षेत्र एक भएको सन्देश गएको छ । तर, आगामी दिनमा यो सम्बन्धले निरन्तरता पाउला वा नपाउला अहिले नै यसै भन्न सकिँदैन ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भइसकेका उद्योगपति चौधरीले नेपाल उद्योग परिसंघ गठन गरेपछि दुई संस्थाबीचको सम्बन्ध कहिल्यै पनि सहज भएन ।

विनोद चौधरीले महासंघको निर्वाचनमा दोस्रो पटकको कार्यकालमा अध्यक्ष उठ्दा पद्यम ज्योतिबाट पराजित भएका थिए । ज्योतिपछि चौधरीले पोखराका व्यवसायी आनन्दराज मुल्मीलाई अध्यक्ष जिताउन सफल भएपछि चौधरी महासंघको कार्यक्रममा सहभागी भएनन् ।

उद्योग वाणिज्य महासंघमा चौधरी कसरी भित्रिए र अध्यक्षमा निर्विरोधदेखि लिएर पराजित तथा सीएनआई गठनको विषय आत्मकथामा उल्लेख गरेका छन् ।

गत चैतमा भएको महासंघको साधारणसभामा बोलाएर तत्कालिन अध्यक्ष पशुपति मुरारकाले चौधरीलाई पूर्वअध्यक्ष र फोब्र्सको सूचिमा पर्ने एकमात्र नेपालको अर्बपति हिसाबले दुईवटा सम्मान दिएका थिए । महासंघको साधारणसभामा चौधरीको उपस्थिति निकै अर्थपूर्ण मानिएको थियो ।

‘मलाई महासंघले स्थापनाको ५० वर्ष पुरा गरेको उपलक्ष्यमा सम्मान गर्यो,’ चौधरीले बिहीबार दिएको रिसेप्सनमा भने, ‘मेरो हिजोका तुषहरु सकिए, एउटै गुटलाई लिएर हिँड्नु अब उपयुक्त छैन, म सबैलाई मिलाएर अघि बढ्छु ।’

चौधरीले महासंघको साधारणसभामा जाँदा पनि आफ्नो तुषहरु सकिएको र दुवै संस्था मिलेर अघि बढ्नुपर्ने बताएका थिए ।

सीएनआई गठन भएपछि महासंघसँगको सबैभन्दा बढी विवाद कुशकुमार जोशी अध्यक्ष भएको समयमा थियो ।

त्यो बेलासम्म उत्पत्तीको प्रमाणपत्र (सीओ) महासंघले मात्र जारी गर्ने गरेको थियो । तत्कालिन माधवकुमार नेपालको सरकारले त्यो अधिकार सीएनआईलाईपनि दियो ।

त्यो बेला विनोद चौधरी सीएनआईको अध्यक्षपनि थिए भने नेकपा एमालेको तर्फबाट संविधासभामा समानुपातिक सभासद् पनि थिए ।

उत्पत्तीको प्रमाणपत्रको विषयले महासंघ र परिसंघबीचको विवाद सडकमै छताछुल्ल भएको थियो । सरकारले त्यसपछि महासंघ, सीएनआईसहित अन्य संस्थालाई पनि उत्पतीत्तीको प्रमाणपत्र जारी गर्ने अधिकार दियो ।

प्रमाणपत्र जारी गर्ने विवाद जारी रहेकै अवस्थामा माओवादीले गरेको अनिश्चितकालिन बन्दको विरोधमा एक ठाउँ उभिएर विरोध कार्यक्रम गरे ।

कुशकुमार जोशीपछि अध्यक्ष बनेका सुरज वैद्यको समयमा पनि महासंघ र सीएनआईको सम्बन्ध सहज भने भएन ।

नेपालीलाई विदेशमा लगानी गर्न दिनुपर्ने विषयमा महासंघ र सीएनआईबीच विवाद थियो । यद्यपी त्यतिबेलाका महासंघका उपाध्यक्ष पशुपति मुरारका नेपालीलाई विदेशमा लगानी गर्न दिनुपर्ने कानूनको पक्षमा थिए ।

महासंघ र सिएनआईबीचको सम्बन्ध सहज भने पशुपति मुरारकाको कार्यकालबाट भएको हो । उनी उपाध्यक्ष हुँदा सीएनआईको कार्यक्रमा गएको भेटिन्थ्यो ।

पशुपतिका पिता आत्मराम मुरारका सीएनआईमा भएको हुँदापनि महासंघ र सीएनआईबीच सम्बन्ध सहज बनाउन सहज भयो ।

मुरारकाले महासंघको ५१औं साधारणसभामा चौधरीलाई विषेश सम्मान प्रदान गरेका थिए । जुन कुरा चौधरी सम्मान थाप्न जाँदा मात्रै धेरैले थाहा पाएका थिए ।

मुरारकाले चौधरीलाई महासंघमा उपस्थित मात्रै गराएनन्, अहिलेको महासंघका अध्यक्षसहितिका पदाधिकारीहरुलाई परिसंघको सार्वजानिक कार्यक्रममा उपस्थित गराउन समेत सफल भए ।

योसँगै निजी क्षेत्रका दुई संस्थाबीचको लामो विवाद र तिक्तता समाप्त भएको र निजी क्षेत्र एक भएको सन्देश गएको छ ।

तर, आगामी दिनमा यो सम्बन्धले निरन्तरता पाउला वा नपाउला अहिले नै यसै भन्न सकिँदैन ।

सम्बन्धित समाचारहरु

महासंघ फुटाउने त्यो चुनाव…

विनोद चौधरी भन्छन्- यसकारण मैले एफएनसीसीआई छोडेँ


पुष्प दुलाल