अब नेपालमै काठको सिजनिङ हुने, टिम्बर कर्पोरेशनले प्रशोधन प्लान्ट सञ्चालन गर्दै



चितवन। द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले भरतपुरमा काठको सिजनिङ तथा प्रशोधन प्लान्ट निर्माणका लागि आज भवन शिलान्यास गरेको छ ।

भवनमा दुई करोड ५० लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण गर्न लागिएको हो । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले तीन महिनाभित्र भवन निर्माण गरी प्लान्ट जडान गरिसक्ने उनले बताए। प्लान्टका लागि आवश्यक पर्ने उपकरण नेपालमा भित्रिइसकेको छ ।

महाप्रबन्धक लौडारीकाअनुसार नरम र कुकाठलाई सिजनिङ र प्रशोधन गरी लामो समयसम्म टिकाउ र बलियो बनाइने छ । सिजनिङले काठको पानीको मात्रालाई घटाउने काम गर्छ भने प्रशोधनले कुनै पनि रोग लाग्न नदिने गरी रसायन प्रयोग गरेर काठलाई बलियो बनाउने काम गर्छ ।

सो अवसरमा लौडारीले प्लान्ट देशको मध्यभागमा रहेकाले देशका जुनसुकै ठाउँबाट पनि काठ ल्याउन मिल्ने भएकाले चितवनमा प्लान्ट जडान गर्न लागिएको बताए। नेपालमै ठूलो परिमाणमा काठ सिजनिङ गर्ने यो पहिलो प्लान्ट हो । लौडारीका अनुसार यो प्लान्टले एक वर्षमा एक लाख २० हजार क्यूविक फिट काठ सिजनिङ र प्रशोधन गर्न सक्छ ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार काठलाई सिजनिङ र प्रशोधन गरेपछि १० गुणासम्म बलियो र टिकाउ हुन्छ । नेपालको पहाडी क्षेत्रमा रहेका सल्लो, उत्तिस, चिलाउने, तराईका सिसौ, साज, कर्मा, बकाइनाजस्ता काठ सिजनिङ गर्न सकिने उनले बताए।

नेपालमा वर्षेनी तीन अर्ब रुपैयाँभन्दा बढीको काठ आयात हुने गरेकामा अब काठलाई सिजनिङ र प्रशोधन गर्न सके निर्यात गर्न सकिने सम्भावना रहेको छ ।

विश्वका जुनसुकै देशमा पनि आफ्नै उत्पादन कमजोर काठलाई सिजनिङ र प्रशोधन गरेर आवश्यकता पूर्ति गर्ने गरेको पाइन्छ । सिजनिङ र प्रशोधन गरेपछि सबै काठ सालको काठसरह बलियो हुने र पसांगिदैन ।

नेपालमा मागको २५ प्रतिशत हाराहारीमात्रै सरकारी तवरबाट काठ आपूर्ति हुने गरेको छ ।

द टिम्बर कर्पोरेशनले गत आवमा चार लाख क्वूविक फिट काठ बिक्री गरेको जनाएको छ । महाप्रबन्धक लौडारीले चालू आवमा सात लाख क्यूविक फिट काठ बिक्री गर्ने लक्ष्य रहेको बताए । सिजनिङ र प्रशोधन हुन थालेपछि निजी वनसँग समेत समन्वय गरेर काठ खरिद गरिने जानकारी उनले दिए।

हाल टिम्बर कर्पोरेशनले राष्ट्रिय वनबाट मात्रै काठ लिने गरेको छ । काठमाडौँसहित देशका ११ वटा डिपोबाट कर्पोरेशनले काठ बिक्री गर्दै आएको छ ।

टिम्बर कर्पोरेशन भरतपुरका प्रमुख प्रदीपकुमार निरौलाले काठको माग अत्यधिक भएको भन्दै प्लान्ट राखेपछि केही हदसम्म यस क्षेत्रका जनतालाई बढी काठ दिन सकिने बताए । यो कार्यालयले गत आवमा २६ हजार क्यूविक फिट गोलाई किनेर १५ हजार क्यूविक फिट काठ बिक्री गरेको जनाएको छ ।


क्लिकमान्डु