बाहिरी चक्रपथको चौडाइ ५० मिटर नै हुने



काठमाडौं । बाहिरी चक्रपथको चौडाइ ५० मिटर नै कायम हुने भएको छ । विस्तृत परियोयोजना प्रतिवेदन (डीपीआर), कित्ताकाटलगायत अन्य प्रविधिक काम सकिएकाले बाहिरी चक्रपथ ५० मिटर नै कायम हुने भएको हो ।

बाहिरी चक्रपथको चौडाई ५० मिटरको मात्रै हुँदा सानो भएको भन्ने बहस पनि भइरहेको थियो । तर, ५० मिटरभन्दा लामो चौडाइ बनाउनका लागि फेरि नयाँ डीपीआर तयार गर्नुपर्ने भएकाले अहिलेलाई ५० मिटर नै कायम हुने गरि काम अघि बढाइने बाहिरी चक्रपथ आयोजनाका शाखा अधिकृत धुब्र सापकोटाले जानकारी दिए ।

‘५० मिटरभन्दा लामो बनाउनका लागि पुन डीपीआर आवश्क पर्छ, कित्ताकाट भइसकेको अवस्थामा नयाँ डीपीआर तयार गर्न थप २/४ बर्ष समय बढ्छ,’ सापकोटाले क्लिमाण्डूसँग भने ।
केहि समयअघि शहरी विकास मन्त्री प्रभु साहले हालको चक्रपथभन्दा बाहिरी चक्रपथको चौडाइमा सानो गरेर किन डिजाइन गरेको भनेर प्रश्न उठाएका थिए ।

मन्त्री साहले हालको चक्रपथ ६२ मिटरको रहेको छ भने नयाँ बानाउने बाहिरी चक्रपथ जम्मा ५० मिटर चौडाइको मात्रै किन भनेर प्रश्न गरेका थिए ।

मन्त्री साहले यो आयोजना रोक्न प्रश्न तेर्साएको नभएर आफ्नो जिज्ञासा मात्रै रहेको बताएर बाहिरी चक्रपथ निर्माणमा अबरोध नगर्ने संकेत पनि गरेका थिए ।

५० मिटर चौडाइको सडकले बाहिरी चक्रपथको चाप थेग्ने अधिकृत सापकोटाको दाबी छ ।

‘नयाँ बन्ने सडकमा हालको चक्रपथको तुलना न्युन संख्यामा गाडी गुड्छन, सो स्थानमा जनसंख्याको चाप पनि थोरै हुने भएकाले ५० मिटरको सडक उपयुक्त छ,’ उनले भने ।

पाइलट प्रोजेक्टको रुपमा रहेको चोभार-संतुगल खण्डको ६.६ किलोमिटरको निर्माणसँगै बाहिरी चक्रपथ निर्माणको कार्यले गति लिने आयोजनाले जनाएको छ ।


पुष्प दुलाल