सात स्थानमा झोलुंगे पुल निर्माण, स्थानीयवासीलाई सहज



चितवन । चितवनमा विभिन्न सात स्थानमा झोलुंगे पुल निर्माण सम्पन्न गरिएको छ ।

अधिकांश पुल चितवनको पहाडी क्षेत्रमा निर्माण भएको जिल्ला प्राविधिक कार्यालय, चितवनका प्रमुख दीपककुमार दासले जानकारी दिए।

उनका अनुसार गएको एक वर्षमा लक्ष्यअनुसारका सबै पुल निर्माण सम्पन्न भएको छ । योसँगै चितवन जिल्लामा अहिलेसम्म  ५६ वटा पुल निर्माण गरिएको कार्यालयले जनाएको छ ।

आव २०७३/७४मा जिल्लाको साविक कविलास गाविसमा दुई, कोराकमा दुई, लोथरमा दुई तथा चण्डिभञ्याङको खानीखोलामा एक गरी सातवटा पुल निर्माण भएको कार्यालयका इन्जिनियर राजेश कोइरालाले जानकारी दिए।

उहाँले उपभोक्ता समितिमार्फत नै सबै पुल निर्माण गरिएको जानकारी दिनुभयो । सबै पुल निर्माणमा झण्डै रु तीन करोड ५० लाख खर्च भएको छ । ती पुल ६३ देखि ११७ मिटरसम्मका छन् ।

यसअघि आव २०७२÷७३मा लोथरको थेटार, काउलेको धराङखोला र लामाटार, चण्डिभञ्याङको तुन्टेस, दाहाखानीको घट्टेखोला र शक्तिखोरको शक्तिखोलामा पुल निर्माण गरिएको थियो ।

घण्टौँ समय लगाएर हिँड्नुपर्ने गाउँमा झोलुंगे पुलले सहज पारिदिएको छ ।

 


क्लिकमान्डु