चौबीस करोड राजश्व संकलन, सुधार तथा जनचेतनाको कारण राजश्व बढ्दो



भीमदत्तनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३/७४ मा २४ करोड ७७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले लक्ष्यभन्दा सात करोड ७४ लाख रुपैयाँ बढी राजश्व संकलन गरेको छ । सो कार्यालयले गत आवमा १७ करोड तीन लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत विकास कुमारले राजश्व संकलनमा वृद्धि हुँदै गइरहेको बताए ।

अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारका कारण राजश्व वृद्धि हुँदै गएको उनको भनाइ छ । आव २०७२/७३ मा २२ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

गत आवमा लक्ष्यभन्दा १४५ प्रतिशत राजश्व संकलन भएको भन्सार अधिकृत कुमारले राससलाई जानकारी दिए ।

यो आव २०७२/७३ भन्दा नौ प्रतिशत कम हो । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा जनचेतना बढेका कारण राजश्व असुलीमा वृद्धि हुँदै गइरहेको छ ।

तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधारलगायत कार्यले राजश्व संकलनमा सुधार आएको हो ।

गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुडी बढी मात्रामा भारततर्फ निर्यात हुने गरेको छ । खुल्ला सिमानाका र फितलो सुरक्षाका कारण यहाँका विभिन्न नाकाबाट भन्सार छलेर भारतीय सीमावर्ती बजारबाट सामान भित्र्याउने क्रम रोकिएको छैन ।


क्लिकमान्डु