पर्यटक लोभ्याउँदै लभ्लीहिल, पर्यटकीय पूर्वाधार बन्दै



म्याग्दी। यहाँको भ्रमणमा आउने पर्यटकलाई बेनीमा घुमाउने ठाउँको खोजी भइरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ ।

सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि सो क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा शुरु भएको छ ।

बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलबाट मनोरम दृष्यको अवलोकन गर्न सकिने भएपछि पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको रोजाइमा लभ्लीहिल पर्न थालेको छ ।

पर्यटन कार्यालय पोखरा र बेनी नगरपालिकाको आर्थिक सहयोगमा गोलघरसहितको विश्रामस्थल, रेलिङ, आरामदायी बेन्चलगायतका पूर्वाधार तयार भएपछि लभ्लीहिलले आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ । आरामदायी बेन्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरिलगायतका मनोरम हिमालको चुचुरो, चौफेरै देखिने हरियाली र आकर्षक भू–बनोटलगायतका कारण आफूलाई लोभ्याएको पहिलोपटक लभ्लीहिल पुगेका रघुगंगा गाउँपालिका–२ का निरोज कार्कीले बताए । दुई नदीको बीचमा अवस्थित बेनीबजारलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउँदा मनै फुरुंग हुने उनको भनाइ छ ।

पर्यटन कार्यालय पोखराको पाँच लाख रुपैयाँ र बेनी नगरपालिकाको चार लाख ५० हजार रुपैयाँ तथा स्थानीयवासीको दुई लाख ५० हजार रुपैयाँको लागतमा लभ्लीहिलको शिरमा आकर्षक गोलघरसहितको विश्रामस्थल, फलामको बेन्च र डिलमा सुरक्षाका लागि १८८ मिटर रेलिङ निर्माण गरिएको लभ्लीहिल डाँडा पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष ध्रुवराज कार्कीले बताए।

चालू आवमा वडा कार्यालयले समेत लभ्लीहिलमा पर्यटन पूर्वाधार निर्माणका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट हाँडेभिर हुँदै लभ्लीहिल पुग्ने नयाँ पदमार्ग निर्माण कार्य शुरु गर्ने लक्ष्य छ ।

‘व्यवस्थित पदमार्ग निर्माणसँगै लभ्लीहिलमा आकर्षक भ्यू टावर निर्माण गर्ने योजना बनाएका छौँ, सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त भएमा निकट भविश्यमै यो क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न हामी लागिरहेका छौँ,’ कार्कीले भने ।

अहिले दैनिक सयौँको संख्यामा पर्यटक लभ्लीहिल पुग्न थालेका छन् । विशेष गरी युवा–युवती बिहान बेलुका र बालबालिका र उनका अभिभावक शनिबार र बिदाको दिन एकान्त वातावरण भएको लभ्लीहिल क्षेत्रमा पुगेर मनोरञ्जन लिन थालेका छन् । पहिले खाडाको डाँडाको नामले चिनिने सो क्षेत्र केही वर्षदेखि लभ्लीहिलको नामले चिनिन थालेको छ ।

यसको विकासका लागि पदमार्ग र भ्यू टावर निर्माणसँगै फोहर व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, खानेपानीको सुविधा, होटल तथा रेस्टुराँ र बगैँचा निर्माणजस्ता योजनालाई समेत उपभोक्ता समितिले अगाडि सारेको छ । यस क्षेत्रमा खान, बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिन्छ । रासस


क्लिकमान्डु