सडक जाम छल्न पौडी खेल्दै कार्यालय, सम्भब होला विष्णुमतीमा पनि ?




काठमाडौं । अत्याधिक दोहनका कारण काठमाडौंका खोला अब ‘खोला’ रहेनन् । खोला माथि पुलमा हिंड्ने पैदलयात्रीहरुले नाक थुनेको देख्दा खोलामा पानी वा काठमाडौंबासीका घरका ढल, कुन बढी बग्ला भनेर सोच्नुपर्ने अवस्था छ ।

तर, जर्मनीको म्युनिख सहरका एक मानिस सहरको मध्य भागमा बग्दै गरेको खोलामा प्रत्येक दिन २ किलोमिटर पौडदैं कार्यालय जान्छन् ।

बेन्जामिन डेभिड नाम गरेका यी मानिसले सहरको ब्यस्त सडकहरुबाट आजित भएर कार्यालय जान पानीको मार्ग समातेका हुन् । उनी आफ्नो ल्यापटप, सुट, जुत्तालगायत आवश्यक सामग्री ‘वाटर प्रुफ’ झोलामा प्याक गर्छन् । र, दैनिक २ कि.मि म्युनिखको ‘इसार’ खोलामा पौडदैं कार्यालय जान्छन् ।

काठमाडौंमा करिब आधा दर्जन खोला बग्छन्, पूरै सहर छिचोल्दै । कमसेकम यी खोला मात्र सफा हुँदो हो त सायद यातायातको अर्को सहज मार्ग फेला पर्दथ्यो होला । यसका लागि अर्बौं–खर्बौंको लगानी पनि लाग्दैन ।

मौसम अनुसार उनी ‘स्विमिङ ट्रङ्क’ वा लामो ‘वेट सुट’ लगाएर पौडने गर्छन् । खुट्टामा भने सिसा वा अन्य केही वस्तुले नकाटोस भनेर रबरको जुत्ता लगाउँछन् ।

उनको पारा देखेर सहरका मानिसहरुले कहिलेकाँही उनलाई नगिज्याउने भने होइनन् । तर, कार्यालय जान ब्यस्त सडकको बाटो छिचोल्नु भन्दा खोलामा पौंडदै जानु छिटो, छरितो र सहज हुने उनको बिश्वास छ ।

काठमाडौंमा पनि बाग्मती, बिष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोला, टुकुचालगायत आधा दर्जन जति खोलाहरु बग्ने गर्छन् । काठमाडौंको सडक जाम म्युनिखलाई पनि माथ दिने खालको छ । तर, काठमाडौंबासीलाई बेन्जामिन डेभिडको जस्तो सुबिधा भने छैन ।

काठमाडौंका खोलामा पौडनु त परै जाओस्, पुल तर्दासमेत श्वास रोकेर, नाक थुनेर र थुन ननिलेर तर्नुपर्ने अवस्था छ ।

बाग्मती सरसफाईको अभियानले बर्षौं बिताइसके पनि आँखामा चस्मा, हातमा पञ्जा, खुट्टामा ‘गम्बुट’ र आङमा आफूले प्रर्वधन गर्न चाहेको सेवा, वस्तु, सिनेमालगायतको बिज्ञापन गरिएको टिर्सट भिरेर ‘सटर्डे’ मनाउन आउने बाहेक खासै उपलब्धी हुन सकेको छैन ।

यो अभियानले पशुपति क्षेत्रको वरिपरी बाहेक न आफूलाई राम्रोसँग बिस्तार गर्न सकेको छ, न काठमाडौंका अरु खोला सरसफाईको लागि प्रेरक अभियान बन्न सकेको छ ।

अब त स्थानीय सरकार पनि बनिसकेको छ । स्थानीय तहका पदाधिकारीहरु राजधानीवासीलाई मेट्रो र मोनो रेल चढाउने सपना पुरानो भयो भन्दै स्काइ रेलको नयाँ कन्सेप्ट बिक्री गर्न तल्लीन छन् । तर, सँगसँगै स–साना बालबालीकाहरु मध्यसहरको ढलमा डुबेर ज्यान पनि गुमाउँदैछन् ।

काठमाडौंमा करिब आधा दर्जन खोला बग्छन्, पूरै सहर छिचोल्दै । कमसेकम यी खोला मात्र सफा हुँदो हो त सायद यातायातको अर्को सहज मार्ग फेला पर्दथ्यो होला । यसका लागि अर्बौं–खर्बौंको लगानी पनि लाग्दैन ।

संसारका बिकसित देशहरुमा सहरको माझमा बग्ने खोलाहरुमा मानिसहरु स–साना काठका डुङ्गा चढेर यात्रा गरिरहेक भेटिन्छन् ।

जाँगर चलाएर खोला सफा गरेमात्र पनि सहज यातायातको अर्को मार्ग पो भेटिन्थ्यो कि ?


क्लिकमान्डु