चाडपर्वको मुखमा यातायात भाडा बढाउने तयारी



काठमाडौं । चाडपर्वलाई नजिकिदैं गर्दा सार्वजनिक सवारीको भाडा वृद्धि गर्ने तयारी थालिएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् ।

हाल ६५ प्रतिशतमा रहेका विभिन्न मोटर्स पाट्र्सको बजार मूल्यको अनुगमन, मजदुर ज्याला लगायतका क्षेत्रमा लागत अध्ययन गरेर भाडा बृद्धि गर्न लागिएको हो । विभागले निर्देशक प्रेम सिंहको संयोजकत्वमा भाडा समायोजन अध्ययन समिति बनाएर साउन मसान्त सम्म टुंगो लगाउने जिम्मेवारी समेत दिएको छ । साउन अन्तिमसम्म प्रतिवेदन तयार गरेर भदौको दोस्रो साता भित्रै भाडा बढाउने तयारी तीव्र पारिएको छ ।

विभागले यातायात व्यवसायीहरुको दबाबमा अघिल्लो हप्ता समिति गठन गरेर उनीहरुकै सहभागितामा काम गरिरहेको छ । सो समितिले पेट्रोलियम पदार्थको मूल्य बाहेक भाडा समायोजन हुनुपर्ने भन्दै ६५ प्रतिशतको आधारमा भाडावृद्धिका लागि सिफारिस गर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार गिरावट आएपछि नेपालमा गत असारमा मात्र दुईपटक मूल्य घटिसकेको छ । यो समायोजनको अनुपातमा सार्वजनिक सवारीको भाडादर घट्नुपर्नेमा उल्टो वृद्धि हुने भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा  भाडादर समायोजनको लागि ३५ प्रतिशत आधार मानिन्छ । बाँकी ६५ प्रतिशत आधार गाडीको मूल्य, बैंकको ब्याज, मजदुर ज्याला, लुब्रिकेन्ट, मोटरपाट्र्सहरुलगायतका १८ वटा पाट्र्सको बजार मूल्यका आधारमा मूल्य समायोजन गरिन्छ । हाल ६५ प्रतिशत आधारभित्र रहेका पाट्र्सहरुको मूल्य वृद्धि भएका कारणले भाडादर निश्चित बढ्ने महासंघले दाबी गर्दै आएको छ ।

‘विगत चार वर्षदेखि भाडादर समायोजन नभएकाले ‘समायोजन’ ले स्वतः भाडादर वृद्धि हुन्छ,’ महासंघका अध्यक्ष डोलनाथ खनालले भने ।

यसबाहेक प्रतिलिटर पाँच रुपियाँ मूल्य घट्दा सार्वजनिक यातायातहरुले भाडा समायोजन गर्नुपर्ने प्रावधान छ तर पेट्रोलियम पदार्थको मूल्य पटक-पटक घट्दा पाँच रुपियाँभन्दा धेरै घटिसकेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन लाग्दा व्यवसायीहरु भाडा घटाउनुपर्छ भनेर प्रतिलिटर पाँच रुपियाँभन्दा कम दरमा मात्र मूल्य घटाउन दबाब दिने गरेको निगमले जनाएको छ । भने निगम आफैँ पनि एकमुष्ट मूल्य बढाउनुभन्दा पाँच रुपियाँभन्दा कम मूल्य बढाउने अभ्यासमा लागेको देखिन्छ ।

महासंघका अध्यक्ष खनालले ‘२०६९ सालदेखि ६५ प्रतिशत आधारको भाडा समायोजन नभएको भन्दै भाडा बढाउनुको विकल्प नभएको बताउँछन् । पेट्रोलियम पदार्थको आधारमा २०७२ सालमा समायोजन भएको महासंघको भनाई छ ।

यातायात भाडामा खुद्रा मुल्य हटाउने

यातायात व्यवस्था विभागले वितगमा जस्तो खुद्रा मुल्य फिर्ता दिने वा लिने व्यवस्था हटाउने भएको छ । भाडामा समायोजमा खुद्रा मुल्यका कारण धेरै यात्रुहरु ठगिएको भन्दै विभागले भाडामा समायोजनमा यस्तो विधि अपनाउने तयारी गरेको हो ।

विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार अव १२ रुपैयाँ भाडादर रहेको स्थानको घटाएर १० रुपैयाँ कायम गरिने र १३ रुपैयाँ भाडादर रहेको स्थानमा १५ रुपैयाँ भाडादर तोकिने जानकारी दिए । ‘विगतमा यस्तो नगर्दा यात्रु बढी ठगिने गरेको पाइयो,’ भट्टराईले भने ।

विभागले १७ रुपैयाँ कुनै ठाऊको भाडादर छ भने घटाएर १५ रुपैयाँ बनाउने तयारी गरेको छ । भने कुनै स्थानको भाडा १८ रुपैयाँ छ भने बढाएर २० बनाउने विभागको तयारी छ ।

यातायात व्यवसायीले भने हाल १३ रुपैयाँ भाडादर कायम रहेको दूरीमा यात्रुसँग १५ रुपैयाँ तथा १८ रुपैयाँ को भाडा दरमा २० रुपैयाँ असुल गर्दै आएका छन् ।


क्लिकमान्डु