लगानी बढाउनु सरकारको प्राथमिकता- प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
‘राष्ट्रिय व्यवसायी पहल’द्वारा आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिसँगै मुलुकको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएको बताउँदै कुल गार्हस्थ्य उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने, लगानी बढाउने सरकारको प्राथमिकतामा रहेको बताए ।

लगानी बढाउने सम्बन्धमा कतिपय कानून संशोधन भइसकेको र केही संशोधनको प्रक्रियामा रहेको अवगत गराउँदै प्रधानमन्त्री देउवाले भने, “हामी लगानी बढाउन प्रशासनिक र कानूनी झन्झट हटाउने तयारीमा छौँ, लगानी गर्नेलाई आवश्यक सबै सहयोग हुन्छ ।”

जिम्मेवार व्यवसाय भनेको केही नाफाको अंश सामाजिक कार्यक्रममा खर्च गर्नु हो भन्दै उहाँले जिम्मेवार व्यवसायीको प्रमुख दायित्व राज्यको नियम कानून पालना गर्नु पनि रहेको धारणा राखे । “हामी आर्थिक वृद्धिमात्र चाहन्छौँ वा स्वच्छ समतामूलक दिगो अर्थव्यवस्था चाहन्छौँ, यस सम्बन्धमा सम्मेलनले पहल गर्ने विश्वास व्यक्त गर्छु”, उनले भने ।

जिम्मेवार व्यवसायीले सामाजिक समस्याप्रति जिम्मेवार भई गरिबी निवारण, द्वन्द्व व्यवस्थापन, आर्थिक असमानता निराकरण, वातावरणीय असन्तुलनजस्ता मुद्दा पनि सम्बोधन गर्नुपर्ने उनको धारणा थियो ।

मुलुकको विकासका लागि निजी क्षेत्रलाई सक्षम बनाउनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, “निजी क्षेत्रमा देखिएका विद्यमान समस्या एकैरातमा समाधान हुँदैनन्, त्यसका लागि नियम कानूनमात्र पर्याप्त हुँदैन, व्यवसायीले आत्मबोध गरी स्वनियमन गर्नु पनि आवश्यक छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारको प्रमुख दायित्व संविधानको स्वीकार्यता बढाउनु र सफल कार्यान्वयन गर्नु रहेको बताउँदै त्यसका लागि स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र अन्तिम चरणको निर्वाचन आगामी असोज २ गते हुन गइरहेको जानकारी गराए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि आवश्यक तयारी भइरहेको र त्यसमा निर्वाचन क्षेत्र निर्धारण आयोगले काम शुरु गरिसकेको उनको भनाइ थियो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकुमार मकाजु श्रेष्ठले जिम्मेवार व्यवसाय र जिम्मेवार समाज निर्माणका लागि व्यवसायी र सरकारबीच समन्वय र सहकार्यको खाँचो औँल्याए । उनले व्यापार सफलताका लागि लगानीकर्ताका सफलताका कथाबाट सिक्न सकिने भन्दै त्यसका लागि सामाजिक उत्तरदायित्व र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष पद्म ज्योतिले असल समाज निर्माणका लागि व्यावसायिक दायित्वलाई अझ प्रभावकारी बनाउन सम्मेलन उपयोगी हुने बताए । उनले अब पालो अधिकारको नभई जिम्मेवारीको रहेको बताउँदै जिम्मेवार व्यवसायीले आदर्श र जिम्मेवार समाज निर्माणमा योगदान पु¥याउनुपर्नेमा जोड दिए ।

संस्थाका उपाध्यक्ष कुशकुमार जोशीले सफल समाज निर्माणका लागि सफल र जिम्मेवार व्यवसायी हुनुपर्छ भन्ने ध्येयका साथ सम्मेलन व्यावसायिक सीप र लगानीको जिम्मेवारीलाई सामाजिक क्षेत्रमा अभिप्रेरित गर्न उपयोगी हुने बताए ।

सम्मेलनमा छिमेकी मुलुक भारत, चीन, सिंगापुरलगायत अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यवसायी, विज्ञ, अनुसन्धानकर्ताको जमघट रहेको छ । दुईदिने सम्मेलनमा विभिन्न विषयमा ख्यातिप्राप्त व्यवसायीले १६ वटा कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

रासस


क्लिकमान्डु