यसरी द्रुतगतिमा फैलँदै छ क्यान्सर



झापा । ४ वर्षयता झापामा क्यान्सर रोगीको संख्या दोब्बर बढीले वृद्धि भएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७/०६८ मा १२४ जना क्यान्सर रोगी रहेकोमा गत आव २०७३/०७४ मा बढेर ३१२ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो संख्या करिब अढाइ सय प्रतिशत हो ।

त्यस्तै, आव २०६९/०७० मा ९२ जना र आव २०७०/०७१ मा २८३ जनालाई क्यान्सर रोगी फेला परेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य प्रमुख मधुसुदन कोइरालाले प्रमाणसहित आएका सबै क्यान्सर रोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरिएको बताए ।

यस्तै, कार्यालयले गत आव २०७३/०७४ मा ६६५ जना दीर्घरोगीलाई निःशुल्क उपचारका लागि सिफारिश गरेको छ, जसमा क्यान्सरका ३१२ जना, मुटुका १९५, मिर्गौलाका १४२, स्पाइनल इन्जुरी छ, पार्किन्सन्स् चार, हेड इन्जुरीका पाँच र सिकलसेल एनिमियाका एकजना बिरामी रहेको कार्यालयका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।

मेची अञ्चल अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरले पछिल्लो समयमा सुर्तीजन्य पदार्थको सेवन क्यान्सरको प्रमुख कारण बन्दै गएको बताए। “हामीले खाने खानामा विषादी त छँदैछ, त्यसमाथि चुरोट, गुट्खा, खैनी थपिएपछि रोग त लाग्ने नै भयो ।”

खानपानमा सुधार गरेर नियमित व्यायाम गरे जटिल तथा दीर्घरोगबाट बच्न सकिने उनको सुझाव छ ।

सरकारले आर्थिक अभावका कारण कुनै पनि नागरिकको मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर, मुटुरोग, मिर्गौला, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका जटिल रोगको निःशुल्क उपचारको घोषणा गरेको छ । सोहीअनुरुप जिल्ला जनस्वास्थ्य कार्यालयले त्यस्ता बिरामीको उपचारका लागि सिफारिश गर्दै आएको छ । रासस


क्लिकमान्डु