एमाले राष्ट्रिय आन्दोलनको सिंगो नायक: अध्यक्ष ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता सवालमा एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

आज पार्टी कार्यालय धूम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा एमालेले लिएको राष्ट्रिय अडानका कारण कुनै पनि पार्टी एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैन भन्ने धारणा राखेका हुन् ।

अध्यक्ष ओलीले ‘‘एमालेसँग प्रतिस्पर्धा गर्ने दम कुनै पार्टीले राख्न सक्दैनन्” भन्दै “केही पार्टी राज्यसत्ताको प्रयोग गरेर अनुचित ढंगले प्रतिस्पर्धा गर्न खोजेका छन्,”।

वैचारिक, नीतिगत र सांगठनिक हिसाबले सबभन्दा ठूलो पार्टी एमाले भएको बताउँदै उनले “एमाले प्रमुख वामपन्थी पार्टीमात्र नभएर देशको प्रमुख पार्टी र राष्ट्रिय आन्दोलनको सिंगो नायक भएको दाबी गरे ।

अध्यक्ष ओलीले एमाले ठूलो दल भए पनि सजिलोसँग काम गर्न नदिएको र अनेकथरि तत्वले एमालेविरुद्ध लाग्ने गरेको आरोप लगाए ।

पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले तराई–मधेशको विकासका लागि तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो हुनुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले मधेशमा पहिलो पार्टी बनेर विकास लहर ल्याउने बताउँदै राष्ट्रिय नीतिका बारेमा अन्य दल मौन बसेको आरोप लगाए ।

अध्यक्ष ओलीले केही वामपन्थी दलसँग अलिकति संक्रिणताका कारण वाम एकता हुन नसकेको उल्लेख गर्दै एमाले अटाएको ठाउँमा अन्य वामपन्थी पनि अटाउन सक्ने विचार व्यक्त गरे ।

सो अवसरमा वाम बृद्धिजीवी गणेशकुमार अधिकारी र नेकपा (क्रान्तिकारी माओवादी)का नेवा राज्यसमिति सदस्य कमलप्रसाद घिमिरेसहित एमालेमा प्रवेश गरेका थिए । रासस


क्लिकमान्डु